खोटाङमा कालाजारका थप दुई बिरामी भेटिए
खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा थप दुई जनालाई कालाजार संक्रमण भएको पुष्टि भएकोे छ । नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले सोमबार बाहुनीडाँडामा आयोजना गरेको कालाजार नियन्त्रण र उपचार सम्बन्धी केस बेस सर्भिलेन्स कार्यक्रमअन्तर्गत रगत परिक्षण गर्दा दुई जनालाई कालाजार लागेको पत्ता लागेको हो ।
१ सय जनाको रक्त नमुना संकलन गरेर आरडिटी विधिबाट परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।
चैत दोश्रो साता मात्र ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पूष्टि भएको थियो । बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट संक्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस बेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. बैभव मल्लिकले बताए ।
यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार संक्रमितको संख्या ६ पुगेको छ । कालाजारबाट संक्रमितलाई जनही दुई हजार यातायात खर्च उपलव्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने प्रबन्ध मिलाइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए ।
बाहुनीडाँडाको विभिन्न वस्तीमा २०७७ साउन यता कालाजार देखा परेको हो । नगर स्वास्थ्य शाखासँग आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा १० जनालाई कालाजार लागेको तथ्यांक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया