बक्यौता पारिश्रमिक माग्दै प्रदेश-२ सरकारविरुद्ध स्वास्थ्यकर्मी प्रदर्शनमा
जनकपुरधाम : कोभिड १९ को बेला करारमा खटिएका स्वास्थ्यकर्मीहरूले बक्यौता पारिश्रमिक र भत्ता माग्दै गर्दै प्रदेश-२ सरकारविरुद्ध प्रदर्शन गरेका छन् । बिहिबार जनकपुरधामस्थित बारहबिघा मैदानबाट प्लेकार्ड र ब्यानर सहित मुख्यमन्त्री कार्यालयसम्म प्रदेश सरकार विरुद्ध नाराबाजी गर्दै उनीहरूले प्रदर्शन गरे ।
प्रदर्शनको क्रममा मिल्स एरियामा प्रहरीले निषेधित क्षेत्र रहेको भन्दै मुख्मयन्त्री कार्यालय जानबाट रोकेपछि बीच सडकमै सरकारविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेर स्वास्थ्यकर्मीले विरोध जनाएका थिए ।
करीब दुई घण्टासम्म सडक जामभएपछि मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले वार्तामा बोलाएर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । वार्तामा मुख्यमन्त्री जनकपुर बाहिर कार्यक्रमका लागि गएकाले आउँदो बुधबार मुख्यमन्त्रीसँग भेटेर समस्याको निकास खोज्ने प्रतिबद्धता प्रमुख स्वकीय सचिव यादवले जनाएका थिए । त्यसपछि प्रदर्शनकारीले तत्काललाई विरोधका कार्यक्रम स्थगित गरेका छन् ।
पारिश्रमिक र भत्ता माग्दै स्वास्थ्यकर्मीहरूको गएको माघ २७ गते मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएका थिए ।
विरोध प्रदर्शनको नेतृत्वकर्ता स्वास्थ्यकर्मी सुशील यादवले भने प्रदेश सरकारले पारिश्रमिक उपलब्ध गराउने अवस्था नदेखिएपछि बाध्य भई आन्दोलनमा उत्रिनु परेको बताए । करारमा खटिएका करिब चार सय जना स्वास्थ्यकर्मीहरुको चार महिनाको तलब र ५ महिनाको भत्ता बाँकी छ । केही स्वास्थ्यकर्मीको ५/५ महिनाको तलब भत्ता बाँकी रहको छ ।
प्रदेश २ सरकारको मन्त्रिपरिषदको निर्णयअनुसार समाजिक विकास मन्त्रालयको निर्देशनमा प्रादेशिक र जिल्ला अस्पतालमा उनीहरु काम गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया