पारिश्रमिक ३० प्रतिशत घटाउ : तमिल निर्माता
तमिल : महामारीका कारण रोकिएका फिल्म पुनः सुचारु गर्न तमिलियन निर्माताले कलाकार तथा प्राविधिकलाई आफ्नो पारिश्रमिक कम गर्न आग्रह गरेका छन् । तमिलियन निर्माताहरुको साझा संगठन तमिल फिल्म एक्टिभ प्रोड्युसर एसोसियनले सोमबार विज्ञप्ति जारी गर्दै कलाकार तथा प्राविधिकलाई आफूले लिइरहेको पारिश्रमिकमा ३० प्रतिशत कटौती गर्न आग्रह गरेको हो ।
‘थुप्रै निर्माताले स्याटालाइट, ओटिटी, ओभरसिज, डबिङ अधिकार केही पनि किन्ने मान्छे पाएका छैनन् । यस्तो अवस्थामा निर्मातालाई फिल्मको बाँकी काम सक्नै गाह्रो पर्ने अवस्था छ । यस्तो अवस्थामा पैसा घटाएर निर्मातालाई साथ दिन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
तमिल निर्माताले मलयालम र तेलगु फिल्मका कलाकारले ३० देखि ५० प्रतिशतसम्म रकम कटौती गर्न तयार भएको उदाहरण पेस गर्दै तमिलमा पनि सोही अनुसार गर्न अनुरोध गरेका छन् । कलाकार तथा प्राविधिकले ३० प्रतिशत मात्र पारिश्रमिक कम गर्दा पनि फिल्मको लागत ४०-५० प्रतिशतले कमी आई निर्मातालाई राहत हुने आँकडा प्रस्तुत गरेका छन् । तर, संगठनले यस्तो अनुरोध १० लाखभन्दा बढी पारिश्रमिक लिने कलाकार तथा प्राविधिकलाई मात्र गरेको हो । १० लाखभन्दा कम पारिश्रमिक लिनेले पूर्व निर्धारित रकम नै पाउनेछन् ।
केन्द्र सरकारले पाँचो तहको लकडाउन गाइडलाइन जारी गर्दै हलसँगै फिल्म सुटिङ पनि पनि खोल्ने अनुमति दिएको थियो । योसँगै सात महिनायता रोकिएका निर्माता सुटिङको तयारीमा लागेका छन् । दक्षिणभारतका फिल्म उद्योगमध्ये सबैभन्दा ठूलो उद्योग मानिने तमिलमा रजनीकान्त,कमल हसन, बिक्रम, धनुष, विजय, सूर्या, अजित, कार्ति आदि कलाकार काम गर्छन् जसले एउटा फिल्ममा काम गरेको १० करोडदेखि ५० करोडसम्म लिन्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया