हलिउड/बलिउड

फ्रेन्च सरकारको नयाँ कानुन

‘नेटफ्लिक्स, अमेजनले कमाइको २५ प्रतिशत फिल्म उद्योगमै खर्च गर्नुपर्ने’

इकागज |
कात्तिक १७, २०७७ सोमबार १२:० बजे

काठमाडौं :  फ्रेन्च सरकारले नेट्फ्लिक्स, अमेजन, डिज्नीआदि डिजिटल स्ट्रिमिङ साइटबाट हुने कमाइको २५ प्रतिशत फ्रान्स कै फिल्म उद्योगमा खर्च गर्नु पर्ने नयाँ कानुन लागू गर्ने भएको छ । फ्रेन्च सरकारले आउँदो वर्षको फ्रेब्रुअरी वा मार्चदेखि यो कानुन लागू गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

लामो समयदेखि फ्रेन्च सरकार र स्ट्रिमिङ सेवा प्रदायक नेटफ्लिक्स, अमेजन प्राइम डिज्नी आदि मोलमोलाइका लागि गहन छलफलमा थिए । अन्ततः सरकारले उनीहरूलाई २५ प्रतिशतमा सहमत गराएको छ । अब स्ट्रिमिङ साइटले फ्रान्सका सब्स्क्राइबरबाट जे जति कमाउँछन् त्यसको २५ प्रतिशत फ्रान्सको सिनेमा निर्माणमा लगाउनै पर्नेछ । 


सरकारको यो नीतिको प्रत्यक्ष असर नेट्फ्लिक्समा पर्ने अनुमान गरिएको छ । किनकि नेट्फ्लिक्सले यही वर्षको जनवरीमा फ्रान्समा नयाँ अफिस खोलेर नयाँ फिल्म र सिरिज निर्माणमा भव्य लगानी गरिरहेको छ । नयाँ अफिस खुलेसँगै सब्स्क्राइबरको संख्या ५ मिलियन (५ करोड) बढेको नेटफ्लिक्सले जनाएको थियो । यति नै बेला नेटफ्लिक्सले १ सय करोड युरो फ्रेन्स फिचर फिल्म र सिरिज निर्माणमा खर्चने घोषणा पनि गरेको थियो । सोही घोषणा अनुसार नेटफ्लिक्सले २० भन्दा ज्यादा सिरिज र फिचर फिल्म बनाइरहेको छ । 

फ्रेन्च सरकारले भने यसलाई डिजिटल युगमा सांस्कृतिक सम्प्रभूताको जगर्नाका लागि महत्वपूर्ण कदमको रुपमा ब्याख्या  गरेको छ । नयाँ कानुनमाथि  केही समयपछि नै संसदमा छलफल हुने र संसदले दिएको सुझावलाई ग्रहण गरी लागू गर्ने प्रक्रियामा अघि बढाइनेछ । फ्रान्सले ‘सिनेमा हलमा नै गएर हेर्ने’ संस्कृतिको विकासका लागि भन्दै डिजिटल रिलिजमा कडीकडाउ गर्ने गरेको छ । यस अनुसार हलमा रिलिज भएको ३ वर्ष पछि मात्र कुनै फ्रेन्च फिल्म स्ट्रिमिङ साइटमा रिलिज हुन सक्छन् । 

नेटफ्लिक्स र फ्रान्स सरकारबीचको गलफत्तीको इतिहास भने तीन वर्ष लामो छ । सन् २०१७ मा फ्रेन्च सरकारले आयोजना गर्ने कान्स फिल्म फेस्टिभलले  नेटफ्लिक्समा मात्र रिलिज भएका फिल्मलाई फेस्टिभलमा सहभागी नबनाउने घोषणा गरेपछि कान्स र नेटफ्लिक्स विवादमा उत्रिएका थिए । कान्सले फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्सका सिनेमा हलमा रिलिज भएकै हुनु पर्ने सर्त अगाडि सारेपछि कान्स र नेटफ्लिक्सबीच शीतयुद्ध सुरु भएको थियो । नेटफ्लिक्सले आफ्नो रिलिज मोडल नफेर्ने अड्डी कसेपछि त्यसयता नेटफ्लिक्समा रिलिज भएका फिल्मलाई कान्सले प्रतिस्पर्धा सामेल गराउने गरेको छैन ।  

फ्रेन्च सरकारको यो तयारीलाई लिएर स्ट्रिमिङ साइटले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर, यो नियमले उनीहरूको झन्झट थप बढाउने विश्लेषण गरिएको छ । किनकि नयाँ कानुनले कूल कमाइको २५ प्रतिशत फ्रेन्च सिनेमा निर्माणमा खर्चने मात्र होइन, यो खर्चने सीमा पनि निर्धारित गरेको छ ।

यो नियम अनुसार स्ट्रिमिङ साइटले खर्चने रकमको ६० प्रतिशत रकम त्यहाँका ठूला स्टुडियोलाई हैन ‘इन्डिपेन्डेन्ट प्रडक्सन’लाई खर्चनु पर्ने हुन्छ । यति मात्र होइन, स्ट्रिमिङ साइटले यसरी किनेका फिल्म ३ वर्षभन्दा ज्यादा समय राख्न पाउने छैनन् । जबकि अरु देशमा नेटफ्लिक्स वा अमेजनले थुप्रै वर्षका लागि प्रदर्शन अधिकार लिने गरेका छन् । एजेन्सीको सहयोगमा 


Author

थप समाचार
x