हलिउड/बलिउड

५५ लागे शाहरुख : एन्टि हिरो कसरी बने 'किंग अफ रोमान्स’ ?

इकागज |
कात्तिक १७, २०७७ सोमबार १४:५४ बजे

काठमाडाैं : भारतमा तिहारलाई सबैभन्दा ठूलो चाड मानिन्छ । तर, तिहारको मुखैमा पर्ने शाहरुखको जन्मदिन उनको शुभचिन्तकका लागि तिहारभन्दा सानो चाड हुन्न । मुम्बईको बान्द्रास्थित उनको घर ‘जन्नत’अघि हजारौं शुभचिन्तक अघिल्लो दिनदेखि नै भेला हुन्छन् र उनी जन्मिएकोमा आभार प्रकट गर्छन् । शाहरुख पनि मन्नतको अग्लो ठाउँबाट शुभचिन्तकलाई ‘फ्लाइङ’ किसद्वारा कृतज्ञता प्रकट गर्छन् ।  
 
भारतमा मात्र होइन, शाहरुख खानका फ्यान संसारको हर कुनामा छन् । नेपालको  सामाजिक सञ्जाल पनि उनलाई शुभेच्छा प्रकट गरिएका शब्द र तस्बिरले रंगिएको छ ।  

भारतमा टिभीको लोकप्रियताको समयमा उनले ‘फौजी’ र ‘सर्कस’ जस्ता टेलिसिरियलबाट अभिनय यात्रा सुरु गरेका थिए । राज कँवर निर्देशित ‘दिवाना’ उनको डेब्यु फिल्म थियो । त्यसयता उनले भारतीय फिल्म उद्योगमा ३० वर्ष पूरा गरिसकेका छन् । 


शाहरुखले सुरुमा गरेका ‘दिवाना’, ‘राजु बन गया जेन्टलमेन’  ‘चमत्कार’, ‘दिल आशना है’ जस्ता फिल्ममा शाहरुखले अभिनयमा कुनै उल्लेख्य छाप छाडेका थिएनन् । तर, सन् १९९३ मा रिलिज भएको ‘बाजीगर’ले शाहरुख अरुले हिडेको बाटो मात्र हिडन रुचाउने कलाकार होइनन् भन्ने पुष्टि गर्यो ।

थोरै मात्र नेगेटिभ देखिँदा पनि आफ्नो इमेजमा असर गर्छ भनेर चिन्तित हुने हिरोहरूको भिडमा उनले कलकलाउँदी शिल्पा सेठ्ठीलाई छतबाट फालेर मार्छन् तर आमा बनेकी राखीसँग फिल्मको अन्तिममा दृश्यमा यति भावुक अभिनय गर्छन् कि दर्शकले उनलाई अपराधीको रुपमा कल्पना पनि गर्न सक्दैनन् । त्यही साल रिलिज भएको ‘डर’मा उनले ‘एन्टि हिरो’ छविलाई पुख्ता बनाए । अलि पछि रिलिज भएको ‘अञ्जाम’मा पनि शाहरुखले उस्तै भूमिका निर्वाह गरेका थिए । भलै त्यो फिल्म फ्लप भएको थियो । 

‘एन्टि हिरो’को उनको छविलाई ‘रोमान्स किङ’ मा परिणत ग¥यो, ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ले । यो फिल्म भारतीय सिनेमा इतिहासको सबैभन्दा रोमान्टिक सिनेमा मात्र मानिएन, विदेशमा हिन्दी सिनेमाको ढोका खोल्ने पहिलो फिल्म पनि मानियो ।

एनआरआईले भारतीय संस्कार र संस्कृतिको सम्मानका लागि गरेको संघर्षले यो फिल्मलाई कीर्तिमानी फिल्म बनायो । सबैभन्दा ठूलो रेकर्ड त यसको प्रदर्शनले नै राख्यो । मुम्बईको मराठा सिनेमा घरमा यो फिल्म २० वर्षसम्म निरन्तर चलेको थियो ।  ‘रोमान्स किङ’को उनको छविलाई लाहाछाप लगाउनमा यसपछि रिलिज भएका ‘दिल तो पागल है’,‘मोहब्बते, ‘कुछ कुछ होता है’,‘कभि खुशी कभि गम’ जस्ता फिल्मको योगदान रह्यो । 

पछिल्लो ५ वर्ष शाहरुखका लागि सुखद् रहेनन् । उनले पहिले झैं दर्शक कज्याउन आफूलाई धेरैखाले भूमिकामा प्रयोग गरे तर दर्शकले उनको प्रयोगलाई आत्मसात गरेनन् । ‘दिलवाले’, ‘रइस’ ‘हेरी मेट सेजल’ ‘जिरो’ टाइटानिक डुबे झैं डुबे । 

उनको पछिल्लो रिलिज ‘जिरो’ झैं शाहरुख खान फेरि एकपटक बक्स अफिस सफलताको दृष्टिकोणले जिरोमा पुगेका छन् । उनका कुनै पनि फिल्मले बक्स अफिसमा स्पष्ट मुनाफा कमाउन सकेका छैनन् । यही डरका कारणले होला दुई वर्ष भयो उनले कुनै सिनेमा साइन गरेनन् । तर, दुई वर्षपछि शाहरुख फेरि काँचको पर्दामा पुरानो जादू फर्काउने हिम्मतका साथ सेटमा फर्कँदैछन् ।  तमिल फिल्म निर्देशक एटलीको नयाँ फिल्म र यशराज फिल्मस्ले बनाउन लागेको ‘पठान’ उनले खेल्न लागेको समाचार आइरहेका छन् । 

त्यसो त चरित्रको नामले फिल्मको गुणवत्तामा खासै असर गर्ने होइन । तर, शाहरुखको फिल्मोग्राफी हेर्दा उनलाई ‘आर’ खुबै फापेको देखिन्छ । जस्तो कि पहिलो हिट फिल्म ‘दिवाना’मा  उनको नाम राजा सहाय थियो भने ‘डर’मा राहुल मेहरा ।

‘दिलवाले दुल्हनियाँ ले जाएँगे’को राज मल्होत्राको नाम नसुन्ने त सायदै कोही होलान् ? ‘यस बोस’को राहुल जोशी, ‘दिल तो पागल है’को राहुल र ‘कुछ कुछ होता है’को राहुल खन्ना नै हुन् जसले शाहरुखलाई चिनाए । ‘माइ नेम इज खान’को रिजवान खान र ‘चेन्नई एक्सप्रेस’को राहुल मिठाइवाला पनि हिट हुनमा संयोग मात्र मान्ने कि ‘आर’को कमाल !


Author

थप समाचार
x