काठमाडौँ उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग
फाइल फोटो
काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ ।
आज संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले टोखा–छहरे, गोदावरी–पनौती र साँगा–बनेपा खण्डको सुरुङमार्ग निर्माणका लागि अध्ययन गरिने बताए । सुरुङ मार्ग विकास कार्यक्रमका लागि रु एक अर्ब १९ करोड विनियोजन भएको छ ।
काठमाडौँ उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी (नारायणगोपाल चोक सडकखण्डको विस्तारका लागि रु एक अर्ब विनियोजन भएको छ । काठमाडौँ उपत्यकाको ग्वार्खो, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माणको कार्य सुरु गरिने सरकारको योजना छ ।
अर्थमन्त्री शर्माले सिस्नेखोला–नागढुङ्गाको सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र खोलिने बताए । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि रु पाँच अर्ब २० करोड विनियोजन भएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण सुरु गरिने भएको छ । दुम्कीबास–बर्दघाट, कुलेखानी–भीमफेदी, खुर्कोट–चियावारी, मझिमटार–शक्तिखोर, ब्याउलीढुङ्गा–इमिल्चाखोला, सुर्खेत रानीघाट–भुरीगाउ सुरुङ मार्गको अध्ययन सम्पन्न गरिने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया