पूर्वाधार

सडक फराकिलो बनाउने धनगढी महानगरको योजना, हात झिक्ने तयारीमा निर्माण कम्पनी

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १२:१३ बजे

कैलाली - धनगढी उपमहानगरपालिकाले कैलालीपुलदेखि हुलाकी सडकको शुन्यविन्दु क्याम्पसरोडसम्मको सडक १५/१५ मिटरको फराकिलो बनाउने भन्दै धमाधम संचरचनाहरूमा डोजर चलाइरहँदा कैलालीपुलदेखि ट्राफिक चौराहसम्मको एक दशमलव ३८ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले भने काम नगर्ने भएको छ ।

एशियमाली विकास बैंकको सहयोगमा संघीय सरकारले क्षेत्रीय सहरी विकास आयोजनामार्फत् धनगढी उपमहानगरपालिकाको उक्त सडक खण्डको कालिका कन्स्ट्रक्सनसँग २०७७ असार २८ गते सम्झौता गरेको थियो । सडक निर्माणको २०७९ भाद्र ३० गते सम्झौताको समय सकिएको छ । तर धनगढीको मुख्य सडक निर्माणको काम भने सुरु नै भएको छैन ।


क्षेत्रीय सहरी विकासले खानेपानीका पाइप विस्तारको योजनालाई स्वीकृत गर्न नसकेकाले सडक निर्माणको काम प्रभावित भएको कालिका कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर प्रकाश खरेलले बताए । उनले सडकको बीचमा पर्ने खानेपानीको पाईपका कारण सडक निर्माणका लागि अहिलेसम्म अनुमति नै नदिएकाले काम गर्न नसकिने बताए । उनले खानेपानी पाइपका कारण सडक निर्माण गर्न नसकेको प्रति पटक–पटक सम्बन्धित निकायलाई पत्राचार गरेको बताए । पत्राचार जति गरे पनि खानेपानीको पाईप विस्तार नगरी काम नगर्नु भनेका कारण अब कामबाट हात झिक्ने तयारी गरेको बताए ।

क्षेत्रीय सहरी विकास आयोजना र कालिका कन्स्ट्रक्सनबीच दुई वर्षमा जम्मा १० किलोमिटर लम्बाइका ७ वटा सडक निर्माणका लागि ६८ करोड ५ लाख ९८ हजारमा सम्झौता भएको थियो । विद्युत र टेलिफोनका पोल स्थानान्तरण गर्ने सम्झौतामा उल्लेख छ । तर खानेपानीको पाइप सार्ने विषय ठेक्का सम्झौतामा समावेश नगरिएकाले समस्या भएको बताउँदै त्यसको छिट्टै निराकण गरिने क्षेत्रीय सहरी विकास आयोजना धनगढीका प्रमुख रमेश थिङले बताए । 

क्षेत्रीय सहरी विकासमार्फत् निर्माण थालिएका धनगढीका अन्य सडक कालोपत्रको काम अब २ महिनाभित्रै सकिने बताउँदै खरेलले कैलालीपुलदेखि ट्राफिक चौराहासम्मको सडक निर्माणको स्वीकृति नभएकाले काम नगर्ने मनसायमा निर्माण कम्पनी पुगेको बताउदै एक हप्ताभित्र सहमति नभए उक्त सडक खण्डको कामबाट हात झिक्ने बताए ।


Author

थप समाचार
x