३ वर्षमा सक्नुपर्ने कालोपत्रे ४ वर्ष बित्दा आधा मात्रै
फाइल तस्बिर
गोदावरी- कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ ।
पचास किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रेको काम पूरा भएको हो । २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो ।
सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रेको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताए ।
कालोपत्र गर्ने काम जारी रहेकाले यो आर्थिक वर्षमा बाँकी सबै काम सम्पन्न हुने उनले बताए । सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ । यस्तै ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम जारी रहेको मल्लले जानकारी दिए ।
विसं २०४४ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एक÷एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु पर्नेछ ।
एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया