१० वर्षभित्र सातै प्रदेशमा केबलकार बनाउँछाैं : चन्द्र ढकाल
बुटवल- नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सात वटै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् । नेपाल युवा उद्यमी मञ्च रूपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।
चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सात वटै प्रदेशमा केबलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए ।
उनले आगामी तीन महिनाभित्र बुटवलमा निर्माण भइरहेको लुम्बिनी केबलकार सञ्चालनमा आउने पनि जानकारी दिए । 'बुटवलमा बनिरहेको केबलकार तीन महिनाभित्रै सञ्चालनमा आउँछ,' उनले भने ।
बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केबलकार दुई महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने ढकालले जानकारी दिए । दुई महिनामा भौतिक संरचना निर्माण पश्चात तीन महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने र त्यसपश्चात केबलकार सञ्चालन हुने उनको भनाइ रहेको छ ।
ढकालले बुटवलमा केबलकार निर्माणपछि भारतीय पर्यटकहरूको चाप बढ्ने बताए । उनले वसन्तपुर डाँडामा स्तरीय होटलसहित कामेश्वर महादेव भगवानको मन्दिर समेत निर्माण गरिने बताए ।
नेपालमा अहिले विशेषगरी चार वटा स्थानमा केबलकार सञ्चालनमा छन् । नेपालमा पहिलो पटक ०५५ सालमा मनकामना केबलकार सञ्चालनमा आएको थियो ।
चितवनको कुरिनटारको चेरेबाट गोरखाकाे मनकामना मन्दिरसम्म २.८ किलोमिटरको लामो केबलकारबाट प्रत्येक वर्ष हजारौं पर्यटक तथा भक्तजन मनकामना पुग्ने गर्छन् ।
मनकामना केबलकार बनेको १७ वर्षपछि सञ्चालनमा आएको अर्को केबलकार हो, चन्द्रगिरी केबलकार । उपत्यकाभित्रै निर्माण भएको केबलकार २०७३ सालबाट सञ्चालनमा आएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया