पूर्वाधार

सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु भएन दुनै-ल्यासीक्याप सडक

तत्कालै काम सुरु गर्छौँ : निर्माण कम्पनी

इकागज |
पुस ८, २०७९ शुक्रबार २०:२३ बजे

फाइल तस्बिर

सुर्खेत- डोल्पाको सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोर अन्तर्गत पर्ने यस सडकखण्ड निर्माणका लागि २०७८  चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भए पनि अझै काम सुरु हुन नसकेको हो ।

चीन–नेपालको सीमावर्ती क्षेत्र मोरिम्ला, नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडकखण्ड अन्तर्गत पर्ने यस खण्डको काम यथाशक्य सुचारू गराउन कार्यालयले बारम्बार ताकेता गरे पनि निर्माण कम्पनीले अझैँ काम सुरु नगरेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर दिलीप यादवले गुनासो गरे ।


'दुई पटक ठेक्का किन नतोड्ने व्यहोरासहितको ताकेता पत्र काटिसकेका छौं । एउटा पत्र गत मंगलबार सात दिने समयसीमा राखेर पत्र काटिएको छ । यदि सात दिनभित्र सम्पर्कमा आएर काम सुरु भए पनि ठेक्का तोड्ने प्रक्रियामा जान्छौं,' इन्जिनियर यादवले भने ।

यस आयोजनाको कूल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ । दुनै–ल्यासीक्याप सडक खण्ड काइके, डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल-चीन सीमामा पर्ने मोरिम्ला नाका पुग्ने गर्छ । 

डक डिभिजनलाई गाउँपालिकाको ताकेता

सडक डिभिजन कार्यालय चौरजहारीलाई काइके गाउँपालिकाले यस सडकखण्डको काम तत्काल सुचारू गराउन भन्दै २८ मंसिरमा ताकेता पत्र लेखेको छ । पत्रमार्फत सम्झौता भएको महिनौं बितिसक्दा पनि गाउँपालिका हुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आम नागरिकलाई आवत–जावतमा समस्या भएको भन्दै निर्माण कम्पनीलाई तत्काल काम सुरु गराउन अनुरोध गरिएको छ ।

सडक खण्डको काम सुरु नभएकै कारण काइके गाउँपालिकासहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अन्तर्गत रानाले बताए ।

तत्कालै काम सुरु गछौँ : निर्माण कम्पनी

यता श्रेया निर्माण कम्पनीका प्रतिनिधि भीम बोहोराले तत्काल काम सुरु गराउने प्रतिबद्धता जनाएका छन् । सम्झौता भए लगत्तै काम सुरु गर्ने भनेर डोजर ल्याउन प्रयास गरे पनि बर्खामा खोलामा पानीको मात्रा बढेपछि डोजर पार गराउन नसक्दा काममा ढिलाइ भएको बताए ।

'यस सडक निर्माणको गर्नुपर्ने समयसीमा झण्डै तीन वर्ष छ, अब एक वर्षभित्रै काम सम्पन्न गर्नेगरी यही पुस २० गते भित्र काम सुरु गर्छौ,' उनले भने । एकैपटक दुई डोजर ल्याउनु पर्ने र बर्खाको समयमा खोलानाला बढेर डोजर तार्न समस्या भएकाले काममा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।


Author

थप समाचार
x