पूर्वाधार

कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

इकागज |
पुस १५, २०७९ शुक्रबार १६:४७ बजे

कावासोती - राष्टिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वी नवलपरासीको गैँडाकोटदेखि पाल्पाको रामपुर जोड्ने कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा पुगेको छ ।    
करिडोरको एक सय ३२ किलोमिटर सडकको निर्माण सुरु भएको ६ वर्षमा सम्पन्न हुन लागेसँगै स्थानीयवासीमा खुसी छाएको बुलिङटारका होमराज रानाभाटले बताए ।    
    
पूर्वी नवलपरासीको गैँडाकोटबाट पाल्पाको राम्दी सम्मको एक सय ३२ किलोमिटर निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सन प्रालिले ८० प्रतिशत काम सकेको र अब २० प्रतिशत काम आगामी वैशाखसम्म सक्ने गरी दु्रत गतिमा काम भइरहेको आयोजनाका इन्जिनियर हेमराज ओलीले बताए ।    
    
चार वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको सो सडक आयोजना करिब पाँच अर्ब ४७ करोडमा ठेक्कामा गएको थियो । ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सन स्थानीय निर्माण व्यवसायीको प्रयोग गरी सो सडक निर्माण सुरु गरेको आयोजनाका ठेकेदार पक्षका साइड इन्चार्ज कपिल गौलीले बताए ।

कोरोनाको उच्च जोखिमका कारण करिब एक वर्ष ढिला भएको सो सडक अहिले भने निर्माणले गति लिन थालेको छ । पाँच अर्ब ४७ करोडको लागतमा निर्माण सुरु भएको कालीगण्डकी करिडोरको अहिले गैँडाकोटदेखि पाल्पाको राम्दीसम्म एक सय ३२ किलोमिटरको काम भएको र यसको ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सनले स्थानीय नेपाली ठेकेदार गौली ग्रुपलाई ठेक्का दिएको हो ।    
    
 आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये सात मिटरमा कालोपत्र, एक–एक मिटरको किनारा र एक–एक मिटरको नाला हुुने गरी कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।    
    
करिडोरको चार खण्डमध्ये गैँडाकोटको कालीगण्डकी चोकदेखि बुलिङटारको थामबेँसीसम्म, थामबेसीदेखि भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारदेखि पाल्पा रामपुरको पीपलडाँडासम्म रहेको छ । २०७५ साल मङ्सिर १७ गतेदेखि सुरु गरिएको कालीगण्डकी करिडोरको निर्माण कार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि कोरोनाले एक वर्ष धकेलिएको आयोजनाले जनाएको छ ।    
    
करिडोरको एक सय ३२ किलोमिटरमध्ये अहिले ३९ पुल निर्माण कार्य सम्पन्न भएको छ भने हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको सरकारका तर्फबाट सडक हेर्ने सव इन्जिनियर पदम अधिकारीले बताए ।    



Author

थप समाचार
x