पूर्वाधार

सडक सञ्जालसँग जोडिँदै नार्पाभूमि

इकागज |
फागुन १०, २०७९ बुधबार २१:११ बजे

मनाङ- हिमाली जिल्ला मनाङमा सडक सञ्जाल विस्तार भएको २० वर्ष भयो । मनाङमा सडक विस्तार भएको २० वर्षपछि जिल्लाको विकट क्षेत्रको रूपमा रहेको नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग जोडिने भएको छ ।    
    
प्रदेश सरकार र पालिकाबाट बजेट छुट्याइएपछि नार्पाभूमिमा सडक सञ्जालको ट्र्याक खोल्न लागिएको हो । सडक सञ्जालबाट वञ्चित रहेको यस पालिकामा हाल सडक सञ्जाल विस्तारको काम भइरहेको छ । नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । केही भागमा सडक विस्तारका ट्र्याक खोल्ने काम भएको नार्पाभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए ।    
    
उनका अनुसार सडकको ट्र्याक खोल्नका लागि गण्डकी प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु ९० लाख विनियोजन भएको छ । मनाङ सडक सञ्जालसँग जोडिएको लामो समयपछि नार्पाभूमि गाउँपालिकामा बल्ल मात्रै सडकको ट्र्याक खोल्न लागिएको उहाँले बताउनुभयो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेञ्जिङ लामाले पालिकालाई सडक सञ्जालसँग जोड्ने आफ्नो प्रतिबद्धता पूरा गर्ने लक्ष्यमा पुगेको बताए । “पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्र्याक खोल्ने योजना बनाएको थिएँ, यसमा प्रदेश सरकारले सहयोग गर्दा अझ हौसला थपिएको छ”, अध्यक्ष लामाले भने ।    
    
 पालिकाको तल्लो क्षेत्रमा सडक सञ्जालको विस्तारका लागि ट्र्याक खोल्ने काम भइरहेको उनले बताए । “यहाँ ट्र्याक खोलेर मात्रै सुरक्षित यात्रा गर्न त पाउने छैनौँ, तर भीरको बाटो छ, जोखिम उत्तिकै रहेको छ, त्यसलाई मध्यनजर गरी यहाँका नदीनालाको जोखिमलाई न्यूनीकरण गर्न पुल निर्माण पनि उत्तिकै आवश्यक रहेको छ”, लामाले भने ।    
    
यस पालिकामा ट्र्याक खोलिएसँगै स्थानीयवासीमा खुसी छाएको छ । जोखिम बाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता हट्ने उनीहरूको आशा छ । मस्र्याङ्दीलगायत साना ठूला नदीमाथि पुल निर्माण गर्न सकिए अझै यस पालिकाको सडक सुरक्षितरूपमा यात्रा गर्न सकिनेछ ।



Author

थप समाचार
x