पूर्वाधार

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा गौतम विजयी

इकागज |
फागुन १५, २०७९ सोमबार ८:२३ बजे

काठमाडौ - काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम विजयी भएका छन् । आगामी ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी शान्तकुमार श्रेष्ठलाई १२९ मतान्तरले पराजित गर्दै गौतम विजयी भएका हुन् । गौतमले ६१० मत प्राप्त गर्दा श्रेष्ठले ४८१ मत मात्रै ल्याउन सके ।

भृकुटीमण्डपस्थित सभागृहमा भएको मतगणनाम श्रेष्ठ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा झिनो मतान्तरले कविन्द्र महर्जन विजयी भएका छन् । उनले गौतम प्यानलका कमला भट्टराई (काफ्ले) लाई पराजित गरे । 


महर्जनले ५३७ र भट्टराईले ५३० मत प्राप्त गरे । यसैगरी, श्रेष्ठ प्यानलका बासु खड्का ५६६ मतका साथ  प्रथम उपाध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी लक्ष्मण थपलिया (दुर्लभ)ले ५०१ मत मात्रै ल्याउन सके । 

त्यस्तै, संघको द्वितीय उपाध्यक्षमा गौतम प्यानलका तिलकबहादुर लामा विजयी भएका छन् । लामाले ५७० मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी टिकाराम सुवेदीले ४९१ मत पाए । 

यसैगरी संघको महासचिवमा गौतम प्यानलकै पंचमराम तामाङ (विजय) विजयी भएका छन् । उनले ६३६ मत ल्याएर विजयी हुँदा श्रेष्ठ प्यानलका इश्वरराज पन्तले ४४४ मत मात्रै प्राप्त गरे ।

त्यस्तै उपमहासचिव (नितिगत) मा श्रेष्ठ प्यानलका कृष्ण केसी (कृष) ६१३ मत ल्याउदै विजयी भएका छन् । उनका प्रतिस्पर्धी अर्जुन महर्जनले ४३३ मत मात्रै प्राप्त गरे । यसैगरी, उपमहासचिव (आन्तरिक) मा राजन गौतम ६०९ मतका साथ विजयी भएका छन् । राजनले ६०९ प्राप्त गर्दा श्रेष्ठ प्यानलका यन प्रसाद अधिकारी (राजु) ले ४३७ मत मात्रै ल्याउन सके । 

संघको कोषाध्यक्षमा मनोज श्रेष्ठ ५३९ मत प्राप्तगरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठ प्यानलका रमेश महर्जनले ३८२ मत प्राप्त गरेका छन भने स्वतन्त्र रुपमा चुनावमा लडेका राजाराम चौधरीले  ११६ मत प्राप्त गरे । त्यस्तै सह-कोषाध्यक्षमा श्रेष्ठ प्यानलका संजिव शाक्य विजयी भएका छन् । 

शाक्यले ४४० मत ल्याउदा राजन श्रेष्ठले ३६३ मत मात्रै प्राप्त गरे भने स्वतन्त्र उठेका केदार प्रसाद अधिकारीले २४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत युवक कुमार गौतमले जानकारी दिए ।

यसैगरी महिला सदस्य र खुल्ला सदस्यको भने मतगणना भैरहेको प्रमुख निर्वाचन अधिकृत गौतमले बताए । संघमा रहेका एकहजार ६१६ मतदातामध्ये १ हजार १२४ मत खसेको थियो ।


Author

थप समाचार
x