पूर्वाधार

अवधि सकिँदा पनि मैलुङ-स्याफ्रुबेँसी सडकको प्रगति २५ प्रतिशत मात्रै

इकागज |
चैत २५, २०७९ शनिबार १५:१३ बजे

काठमाडौँ- निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन । 

लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । 


यो सडक खण्डमा २५ प्रतिशत प्रगति मात्रै रहेको योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, 'निर्माण व्यवसायीले काम नगरेर निर्माण सुस्त भएको हो ।'

सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा मुआब्जाको समस्या कम रहेको योजनाले जनाएको छ । निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको प्रमुख श्रेष्ठले बताए । 

उनले भने, 'बैंकबाट ताकेता गरेर सम्पर्कमा ल्याइएको छ, व्यवसायीले हामीलाई नयाँ व्यवस्थापनसहित काम गर्छु भनेको छ ।' 

सो ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो । अवधि थप गर्नका लागि निर्माण व्यवसायीले निवेदन दिएको उनले बताए । कामको प्रगति हेरेर निर्माणको काम अघि बढाए मात्रै थप हुने उनको भनाइ छ । उनका अनुसार काम चित्त बुझ्दो भएन, कामको गति बढाएन र जनशक्ति बढाएन भने थप नहुन पनि सक्छ । 

एक महिनादेखि अहिले जनशक्ति र उपकरण थप्न थालेको उनले जानकारी दिए । अहिले तीन मेसिन र एक सय जना जनशक्ति रहेकामा योजनाले निर्माण कम्पनीललाई थप गर्न भनेको उनले बताए । उनले भने, 'गति बढाउँदा अवधि थप्ने नभए जरिवाना लगाउनुपर्ने हुन्छ ।' 

सडकको तल्लोपट्टि खोला रहेकामा त्यसमा पर्खाल लगाउने काम भइरहेको छ । त्यो सकिएपछि नाली बनाएर ग्राभेल गरेर कालोपत्र गरिने उनले बताए । यो सडक सरकारको बजेटबाट निर्माण भइरहेको छ । 

भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिइएको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाइ १९ किमी रहेको छ ।


Author

थप समाचार
x