पूर्वाधार

नारायणी लिफ्टको नहर मिचेर बनेका संरचना हटाउन कार्यदल गठन

इकागज |
जेठ २९, २०८० सोमबार २२:० बजे

फाइल फोटो

चितवन - नारायणी लिफ्ट तथा खगेरी सिँचाइ प्रणालीको रेखाकंनभित्र रहेका अतिक्रमित तथा अव्यवस्थित बसोबासी हटाउन कार्यदल गठन भएको छ । 

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरद्वारा नारायणी लिफ्ट र खगेरी सिँचाइ प्रणालीको नहरको अतिक्रमण गरी भएको अव्यवस्थित बसोबास सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यदल गठन गरिएको हो । 


नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुखको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा जिल्ला प्रशासन कार्यालयका अधिकृत, भरतपुर महानगरपालिकाका अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालयका अधिकृत, नापी कार्यालयका अधिकृत, नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष र खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी कार्यदल गठन गरिएको हो ।

कार्यदलका सदस्य सचिवमा नारायणी लिफ्ट सिँचाइ व्यवस्थापन कार्यालयका अधिकृत रहने व्यवस्था गरिएको छ । कार्यदलले अध्ययनपछि अतिक्रमित जग्गाबाट हट्न सम्बन्धित पक्षलाई ३० दिने सूचना जारी गर्ने, उक्त समयभित्र अटेर गरी बसे सुरक्षा निकायको सहयोगमा हटाइने निर्णय भएको संयोजक घनश्याम कार्कीले जानकारी दिए ।  

उनका अनुसार नारायणी लिफ्ट सिँचाइतर्फ नारायणपुर, कैलाशनगर, पारसनगर फूलबारी क्षेत्रमा नहरको अक्रिमण भएको छ । त्यस्तै खगेरी सिँचाइतर्फ देवनगर, रामपुर, मङ्गलपुर गीतानगर क्षेत्रमा अतिक्रमण भएको सो अवसरमा जानकारी दिइएको थियो । 

विसं २०४० मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नारायणी लिफ्ट सिँचाइ आयोजनाबाट चार हजार सात सय हेक्टर क्षेत्रफल सिँचाइ हुने गर्दथ्यो । नारायणी नदीको लिफ्टिङ गरेर पानी निकाली नहरमा पठाइन्छ । जसबाट २५ हजार घरधुरी लाभान्वित हुने गरेका थिए । 

विसं २०२६ मा सञ्चालनमा आएको खगेरी सिँचाइ आयोजनाले तीन हजार नौ सय हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ । खगेरी खोला, ताल र घोलबाट आएको पानीलाई संकलन गरी नहरमा पठाइने गरिएको छ । जसबाट १५ हजार घरधुरी लाभान्वित हुने कार्यक्रममा जानकारी दिइयो । 

सो अवसरमा राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, भरतपुर महानगरपालिका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष, जिल्ला अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका वडाध्यक्षहरू, नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष, खगेरी सिँचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्षलगायत सरोकारवालाको सहभागिता रहेको थियो । रासस
–––


Author

थप समाचार
x