पूर्वाधार

हेवा खोलामा बेलिब्रिज १५ दिनमा बन्ने

इकागज |
असार १९, २०८० मंगलबार १८:२५ बजे

फाइल फोटो

काठमाडौँ - मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ । 

यही असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको विभागका उपमहानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । उनका अनुसार मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी राजमार्गका पुल बगाएको हो । तीमध्ये तमोर करिडोरमा बेलिब्रिज थियो भने मेची राजमार्ग र मध्यपहाडी एउटा÷एउटा पुल बगाएको छ । उनले भने, “त्योमध्ये पनि धेरैलाई प्रभावित गर्ने भएकाले मेचीको पुल सबैभन्दा पहिले सुरु गरिएको छ ।” 
 
मेची राजमार्गमा बेलिब्रिज निर्माणको काम बाढी आएको भोलिपल्टबाट नै सुरु भएको थियो । एकातिर जग (फाउण्डेसन) तयारी भइरहेको छ । अर्कोतिर बेलिब्रिज पनि फिट गर्दै गरिने उनले बताए । उनले भने, “तयारी अवस्थामा रहेको बेलिब्रिजका भाग जोड्नका लागि जग आवश्यक हुन्छ ।” 


बेलिब्रिजका लागि दुवै किनारामा जग राख्नुपर्नेमा एकातिर सम्पन्न भइसकेको उपमहानिर्देशक पोखरेलले बताए । वारि जग हालेपछि पारिपट्टि टेकाउने काम हुनेछ । उनले भने, “यहाँ पुगेर काम गर्नेहरूसँग कुरा गर्दा १५ दिनमा सकिन्छ भन्नुभएको छ ।” अहिले पनि नदी ठूलो भएकाले सामान वारपार गर्न गाह्रो अवस्था रहेको सडक विभागले जनाएको छ । 

मेची राजमार्गको यो पुल नबनेकाले यातायात नै ठप्प भएकाले प्राथमिकता अहिले त्यसैलाई दिइएको उनले बताए ।  अरु दुई ठाउँमा पानी कम भएपछि बेलिब्रिज राखिने योजना रहेको उनले बताए । खोला फिँजाएर ग्राभेल र ढुङ्गा मिलाएर गर्न सकिन्छ कि भनेर हेरिरहेको उनको भनाइ छ । उनले भने, “मध्यपहाडी क्षेत्रमा बेलिब्रिजका लागि सामान लैजान पनि पहिले मेची राजमार्गको बेलिब्रिज बनिसक्नुपर्ने छ ।” 

मध्यपहाडी राजमार्गमा चियोभञ्ज्याङ नजिकै पुल बगाएको थियो । मेची राजमार्गले जतिको धेरै नागरिकलाई असर पुर्‍याउने नभए पनि यसले त्यहाँका गाउँ जोड्ने सडक भएकाले त्यहाँका स्थानीयवासीलाई वारपारमा समस्या भएको छ । सडकमा थोरै पहिरो खसे पनि ठूलो क्षति भएको छैन । यो वर्ष वर्षाको सुरुमै आएको बाढीले कोशी प्रदेशमा सडकका पूर्वाधार बगाउँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ । रासस


Author

थप समाचार
x