पूर्वाधार

पुल बने पनि बाटो नबन्दा बिरामीको मृत्यु भएपछि फोस्रेटारका स्थानीय आक्रोशित

सम्बन्धित पक्ष मौन बस्दा सञ्चालनमा आउन सकेन पक्की पुल !

इकागज |
जेठ ११, २०७८ मंगलबार ८:३९ बजे

धादिङको फोस्रेटार र नुवाकोटको केउरेनी जोड्ने पक्की पुल

काठमाडौँ : धादिङको फोस्रेटारमा त्रिशुली नदीमाथि पक्की पुल बनेपनि बाटो नबन्दा स्थानीय आक्रोशित बनेका छन् । बाटो नबनेर एम्बुलेन्स जान नसक्दा केही दिनअघि एक जना बिरामीको समेत ज्यान गएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

स्थानीय राजकुमार श्रेष्ठले बाटो नबनेका कारण समयमै अस्पताल पुर्याउन नसक्दा बिरामीको ज्यान गएपछि सरोकारवाला पक्ष मौन बसेको भन्दै गुनासो गरे । स्थानीय युवाहरु आक्रोशित भएपनि सम्बन्धित पक्षले समस्या सुल्झाउन पहल नगर्दा सास्ती थपिएको उनको भनाइ छ । 


धादिङको गल्छी गाउँपालिका १ फोस्रेटार र नुवाकोटको केउरेनी जोड्ने पुल सात वर्षपछि निर्माण सम्पन्न भएको हो । २०७१ सालमा ठेक्का सम्झौता भएर २०७४ सालमा बन्नुपर्ने पुल २०७८ सालमा निर्माण सम्पन्न भएको हो ।

१९२ मिटर पुलको निर्माण भएपनि बाटो नबन्दा सञ्चालनमा आउन सकेको छैन भने स्थानीयले सास्ती झेलिरहेका छन् । १५ करोड ११ लाख रुपैयाँमा सपना हिम्डुङ एण्ड थोकर र नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीले यो पुल निर्माण गरेका हुन् ।

यो पुल बनेपछि धादिङको गल्छी फोस्रेटारबाट धादिङबेसी सदरमुकाम जान १० किलोमिटर बाटो छोटिएको छ । साथै नुवाकोटको तारुका जान पनि यो बाटो सहज भएको छ । 

तर पुल सम्पन्न भएपनि छेउकै बाटो नबन्दा सञ्चालनमा आउन सकेको छैन । जसले गर्दा स्थानीय आक्रोशित बनेका हुन् । पुलको एक किलोमीटर बाटो ठेकेदार कम्पनीले नै पीच गर्नुपर्ने हुन्छ । सोही अनुसार पुल छेउकै टहरा भएको जग्गामा बाटो बनाउन नदिँदा समस्या उत्पन्न भएको स्थानीय श्रेष्ठले बताए ।

‘हामीले धेरै कोसिस गर्यौ । बिन्ती बिसायौँ’ उनले भने, ‘तर टहरो भत्काउन नदिने । अनि बाटो नबन्ने । पक्की पुल भनेर के गर्नु ? बिरामीलाई अस्पताल पुर्याउन नसक्दा ज्यान गुमाउनु परेको छ । सब जना आक्रोशित भएका छन् ।'

स्थानीय बासु खतिवडाले आफ्नो टहरो भत्काउन नदिँदा बाटो बनेको छैन । केही दिनअघि एम्बुलेन्स जाने बाटो नहुँदा एक जनाको ज्यान गएको थियो । खतिवडाले आफ्नो बास र टहरोको सुनिश्चितता भएमात्रै बाटो बनाउन दिने अडान लिएका छन् । जसले गर्दा आक्रोश झन् बढेको छ ।  

ठेकेदार कम्पनीले नुवाकोटतर्फको ३०० मिटर सडक कालोपत्रे गरिसकेको छ । धादिङतर्फ भने १५ मिटर सडकमध्ये पाँच मीटर सडक त्यो टहरोले गर्दा बन्न सकेको छैन । जसले गर्दा बाटो र पुल सञ्चालन हुन सकेको छैन । डिभिजन सडक कार्यालय भरतपुर चितवनले बाटो निर्माण गरेर पुल सञ्चालनका लागि सहजीकरण गर्न गाउँपालिकालाई पत्र पठाएको छ ।

जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यलया, निलकन्ठ नगरपालिका र गल्छी गाउँपालिकालाई सहजीकरणको लागि डिभिजन सडक कार्यालयले पत्र पठाएपनि कुनै छलफल र वार्ता हुन सकेको छैन । जसकारण स्थानीयले समस्या झेलिरहेका छन् । 


Author

थप समाचार
x