मुग्लिन-पोखरा सडक : २० किलोमिटर कालोपत्र
फाइल तस्बिर
तनहुँ- मुग्लिन-पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमी र आँबुखैरेनी क्षेत्रमा छ किमी गरी उक्त दूरीमा कालोपत्र सम्पन्न भएको हो ।
पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमी दूरीमा कालोपत्रका लागि अन्तिम तयारी भइरहेको छ ।
उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको इञ्जिनियर पाण्डेले बताए । पूर्वी खण्डका लागि रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो ।
यस खण्डको काम विसं २०७८ वैशाख २ गतेदेखि गरिएको हो । करिब ४१.४५ किलोमिटर दूरीको उक्त खण्डको काम भइरहेको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनका अनुसार विसं २०८१ वैशाखसम्म सक्ने गरी सम्झौता भएको थियो ।
पृथ्वी राजमार्गको पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा एक सय साठी भौतिक संरचनाका रु १५ करोड १३ लाख मुआब्जा निर्धारण गरिएको छ । सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका रु छ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ । डुम्रे बजारका अधिकांशले पहिलो किस्ताबापतको मुआब्जा लिइसकेका आयोजना कार्यालयले जनाएको छ ।
पृथ्वी राजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दूरी सडक पर्दछ ।
उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७८ भदौदेखि काम सुरु भई विसं २०८१ भदौ १२ मा सम्पन्न गर्ने गरी सम्झौता भएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए ।
पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । यस सडक खण्डमा कालोपत्रका लागि पहिलो पटक परीक्षण कार्य सुरु गरिएको पौड्यालले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया