ग्वार्को फ्लाइ ओभरमा ग्रिडर राखियो [फोटो/भिडियो]
काठमाडौँ - ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभरको काम अन्तिम चरणमा पुगेको छ । सडक विभागको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले ग्वार्कोको फ्लाइ ओभरको काम तीव्र गतिमा भइरहेको जानकारी दिए । अहिले दायाँबायाँ (बालकुमारी तर्फ र बी एण्ड बी हस्पिटल) तर्फ स्लोपको काम धमाधम भइरहेको उनले बताए ।
‘सडक बन्नासाथ पुलबाट गाडी कुदाउने गरी असार मसान्तसम्ममा निर्माणको काम सक्ने तयारीमा छौँ’, महर्जनले भने, ‘सबै काम सक्न थप केही समय लाग्न सक्छ ।’ ग्रिडर हाल्ने काम आज सकिने उनले जानकारी दिए । ग्रिडर उचाल्न नेपालमा क्रेन नभएकाले भारतबाट १५० र २२० टनका दुई वटा क्रेन मगाएर ग्रिडर हाल्ने काम भएको उनले बताए ।
‘ग्रिडर हाल्नासाथ माथि स्लाेप ढलानको काम हुन्छ’, उनले भने, ‘त्यसका लागि धेरै समय लाग्दैन ।’ अहिले सडक किनारमा रि-वाल प्यानल हालेर बीचमा माटो फिलिङ गरी स्लोप बनाउने काम भइरहेको उनले बताए ।
फ्लाई ओभर निर्माणका लागि भ्याटसहित साढे १७ करोडकाे सम्झौता भएको छ । निर्माणका क्रममा थप काम गर्नुपरेकाले निर्माण कम्पनीले १० करोड माग गरेको उनले जानकारी दिए । ‘जमिनमुनिको माटो खराब भएकाले निर्माण कम्पनीले थप काम (ग्राभल पाइलिङ लगायत) गर्नुपर्यो’ उनले भने, ‘त्यसबापतको खर्च र निर्माण गर्न लागेको समयको रकम दाबी गरेको थियो ।’ केन्द्रले तत्काल थप लागत रकम दिन नसक्ने भएकाले पछि सडक विभाग र निर्माण कम्पनी बसेर रकम उपलब्ध गराउनेबारे छलफल भएकाे उनले बताए । तर यसबारेमा निर्णय भने भइसकेको छैन ।
फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ । विभागले २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर जेभीसँग ठेक्का (अनुबन्ध नं. DOR_QRDC/EPC/NCB/GFP/०७७/७८-१३) सम्झौता गरेको थियो ।
उक्त सम्झौताअनुरूप निर्माण कम्पनीले कार्य योजना, डिजाइन, इन्जिनियरिङ, खरिद तथा अण्डरपास सडकसहित चार लेन सडक भएको फ्लाई ओभरको निर्माणका लागि इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपिसी) मोडेलमा कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा करसहित ठेक्का कबुल गरेको थियो । सम्झौता गरिएको दुई वर्षमा काम सक्ने गरी निर्माण अवधि तोकिएको थियो । चौतर्फी रूपमा चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा सहज नियन्त्रण गर्न यो परियोजना सरकारले सुरु गरेको हो ।
कस्तो बन्दै छ फ्लाई ओभर ?
फ्लाई ओभरको लम्बाइ करिब ५ सय मिटर र उचाइ ९ मिटर हुने केन्द्रले जनाएको छ । चक्रपथको कोटेश्वर-कलंकी खण्डमा विस्तार गरिएको ८ लेन सडकको बीचको ४ लेनमा फ्लाई ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्नेछन् भने फ्लाई ओभरमुनिबाट मंगलबजार-इमाडोल-मंगलबजार चल्ने सवारीले आवतजावत हुनेछ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएकोमा निर्माणाधीन फ्लाई ओभरको उचाइ ९ मिटरको हुनेछ । जसको 'र्याम' बालकुमारीतर्फबाट ३ सय २० मिटर लामो र सातोबाटोतर्फबाट १ सय ८५ मिटर लम्बाइको निर्माण हुन लागेको छ ।
बीचको 'सुपर स्ट्रक्चर' को लम्बाइ भने ३५ मिटर लामो हुने निर्माण कम्पनीकाले जनाएको छ । बालकुमारी आकासे पुलबाट बी एण्ड बी हस्पिटलको सडक खण्ड सिधा नभए पनि अहिलेको डिजाइनअनुसार फ्लाई ओभर सिधा नै निर्माण हुनेछ र काेटेश्वरपट्टि भने जमिनअनुसारकाे घुमाउराे हुनेछ ।
हेर्नुहाेस् भिडियो
र,यो पनि
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया