पूर्वाधार

काठमाडौँकै सडकमा अरूले दिएको बत्ती बल्दैन, सर्वसाधारण र ट्राफिक प्रहरी हैरानी

'ट्राफिक बत्ती निर्माण गर्न ऐनले अवरोध गर्‍यो'

अतिन आचार्य |
असार ३, २०८१ सोमबार १६:५३ बजे

तस्विरः अतिन आचार्य

काठमाडौँ- दरबार मार्ग, जमल र कमलादीबाट एक तमासले आएका सार्वजनिक तथा निजी सवारीसाधनहरू रत्नपार्कतर्फ आफ्नो गन्तव्यमा गइरहेका छन् । सो सडक कार्यालय समयमा अरुबेला भन्दा सवारीसाधनको चाप बढी रहने गरेका छन् ।

सडक किनारामा पैदलयात्रीको चाप पनि उस्तै रहने गर्छ । त्रिचन्द्र कलेज अगाडिको ट्राफिक बत्तीको छेउमा रमेश कार्की उभिएका छन् । आइतबार बिहान उनी कसैलाई पर्खेको जस्तो लागे पनि तर कसैको पर्खाइमा भने होइनन् ।


कलेज जान बाटो काट्न उनी तीन मिनेट देखि किनारामा उभिएका हुन् । सडक किनारामा ट्राफिक लाइट भए पनि नबलेका कारण सहजै बाटो काट्न नसकिरहेको उनले बताए ।

‘नाम मात्रको ट्राफिक लाइट छ । बलेको भए हामी जस्ता विद्यार्थीलाई बाटो काट्न सजिलो हुन्थ्यो,’ उनले भने,’ ट्राफिक बत्ती नबल्दा पैदलयात्रुलाई बाटो काट्न सहजीकरण ट्राफिक प्रहरी पनि छैनन् ।‘

देखाउन मात्र सडक किनारामा बत्ती राखिएको कार्की बताउँछन् । नबल्ने बत्ती राखेर सर्वसाधारणलाई झुक्याउन नपाइने उनको तर्क छ । बिग्रेको भए सरोकारवाला निकायलाई बनाउन उनले सुझाव दिए ।

त्यसैगरी, लैनचौरमा बाटो काट्न उभिएकी शकुन्तला श्रेष्ठले ट्राफिक बत्ती नहुँदा कार्कीको जस्तै पीडा भोग्नु परिरहेको सुनाइन् । उनलाई बाटो काट्न भने महिला स्वयंसेवी प्रहरीले सहयोग गरिन् ।

‘नबल्ने बत्ती सडकमा राख्न हुँदैन । बिग्रेको भए मर्मत गरी सञ्चालनमा ल्याउनुपर्छ,’ उनले आक्रोशित हुँदै भनिन्,’ आफ्नो गन्तव्यतर्फ गइरहेका सवारीसाधनले ट्राफिक संकेतको ख्याल गर्थे । हामी जस्ता मानिसलाई बाटो काट्न सहज हुन्थ्यो ।‘

सडकका ५० वटा ट्राफिक बत्ती बल्दैनन्

काठमाडौँ उपत्यकाका सडकमा ट्राफिक बत्ती नहुँदा सर्वसाधारणलाई बाटो काट्न अप्ठ्यारो हुने गरेको छ । बाटो काट्न सडक किनारा उभिएर उनीहरूले सास्ती भोग्नु परिरहेको छ ।

सडकमा बत्ती भए पनि त्यसको अनुगमन र बिग्रेका बत्तीको समयमा मर्मत नहुँदा प्रत्यक्ष असर सर्वसाधारणलाई पर्ने गरेको छ । पैदल यात्रुले समयमै बाटो काट्न नपाउँदा कलेज, कार्यालय र गन्तव्यमा पुग्न पाएका छैनन् ।

उपत्यकाका व्यस्त सडकमा रहेका अधिकांश ट्राफिक बत्ती नबल्ने गरेको पाइएको छ । सडकमा अति जरुरी मानिने ट्राफिक बत्ती नबल्दा सडक र व्यवस्थालाई गिज्याइरहेको छ ।

हाल उपत्यकाका विभिन्न सडकमा गरी ६५ वटा ट्राफिक बत्ती छन् । मुख्य-मुख्य सडकको इन्टरकनेक्सनमा ५२ र पैदलयत्रीका लागि १३ वटा बत्ती रहेको छ । जिल्ला अदालत काठमाडौँ अगाडि मात्र उक्त बत्ती सञ्चालनमा आएको छ । काठमाडौँका सडकमा रहेका ६५ ट्राफिक बत्ती मध्ये १५ वटा मात्र बल्ने गरेको छ । बाँकी ५० वटा भने सडकमा सो केशका लागि राखिएको जस्तो देखिन्छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी १५ ठाउँको ट्राफिक बत्ती बलेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सिंहदरबार अगाडि, गैह्रीधारा, नक्साल भगवती, कालीमाटी, नागस्थान, बल्खु, कोटेश्वर, नयाँ बानेश्वर, पुल्चोक, सानेपा, ठिमी, कौशलटार, सुर्यविनायक र सल्लाघारी चौकमा रहेको ट्राफिक बत्ती बलेका छन् ।

ट्राफिक प्रहरीले कानुन कार्यान्वयन गराउँछ

कार्यालय प्रवक्ता जीवनकुमार श्रेष्‍ठले ट्राफिक प्रहरीले सडकमा राखिएको बत्ती लगाउने र व्यवस्थापनको काम नगर्ने बताए । सडकमा बिग्रिएको ट्राफिक बत्ती पनि कार्यालयले मर्मत नगर्ने उनको भनाइ छ ।

‘ट्राफिक प्रहरीले बत्ती लगाउने निकायसँग समन्वय गर्छ,’ उनले भने,’ सडकमा ट्राफिक बत्ती बिग्रिएको सरोकार निकायलाई समन्वयसहित जानकारी गराउँछौ ।‘

ट्राफिक बत्ती नहुँदा सडकमा ट्राफिक प्रहरीले इसारा गरिरहनु परिरहेको उनले बताए । ट्राफिक बत्ती भएमा बत्तीको संकेतले सहजै आवतजावत गर्न सक्ने उनको भनाइ छ ।

बत्ती भएमा यातायातको साधनहरूले सहजै सडक पार गर्ने श्रेष्ठले बताए । ‘बत्ती नहुँदा ट्राफिकले सडकमा उभिएर हातको इसाराले काम गर्नुपर्ने हुन्छ,’ उनले अगाडि थपे ।

सडकमा भएका अधिकांश ट्राफिक बत्ती सौजन्य प्राप्त छन् । सडक विभाग, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका तथा सडकमा पर्ने स्थानीय तह, विभिन्न बैंक, स्थानीय क्लब र सामाजिक संघ संस्थाहरूले काठमाडौँका सडकमा बत्ती सौजन्य दिएका छन् ।

सरोकारवाला निकायलाई मर्मत गर्न अनुरोध गर्दा समेत बेवास्ता गरिरहेको श्रेष्‍ठले बताए । सडकमा विभिन्न संघ संस्थाले बत्ती हालेका हुन्छन् मर्मत गरिदिन भन्दा पनि समाधान नगरिदिने उनको भनाइ छ ।

ट्राफिक प्रहरीले सडकमा उभिएर कानुनको कार्यान्वयन मात्र गराउने गरेको श्रेष्ठले उल्लेख गरे । ट्राफिक बत्तीको अनुगमन र मर्मत सरोकारवाला निकायले गर्नुपर्ने उनले सुझाव दिए ।

काठमाडौँ महानगर भन्छः सडक विभागले राखेको बत्ती बिग्रियो

काठमाडौँ महानगरको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले सडक विभागले सडकमा राखेको ट्राफिक संकेत बत्ती बिग्रिएको बताए । ‘महानगरले केही स्थानमा बत्ती राखेको छ,’ उनले भने,’ महानगरले भन्दा विभागले बढी बत्ती राखेको छ ।‘

महानगरले बत्ती राखेको ठाउँमा आफैँ मर्मत गरिरहेको उनले बताए । सडकमा भएको बत्ती तथा अनुगमन गर्ने काम सडक विभागले गर्नुपर्ने उनको भनाइ छ । महानगर पनि आफ्नो जिम्मेवारीबाट पन्छिएर नबसेको उनले प्रस्ट पारे ।

आगामी आर्थिक वर्षमा महानगरले अध्ययन गरेर सडक बत्ती राख्न लागेको उनले जानकारी दिए । प्राविधिकले अध्ययन गरेपछि आवश्यकता अनुसार ठाउँको पहिचान गरी बत्ती राखिने उनले बताए ।

सडक विभागका सूचना अधिकारी तथा सिनियर डिभिजन इन्जिनियर अमित कुमार शर्माले नीतिगत व्यवस्थाले गर्दा सडकमा राखिएको बत्ती मर्मत हुन नसकेको बताए । ऐनमा सडकमा राखिएको बत्ती यातायात व्यवस्था विभागले मर्मत सम्भार गर्नुपर्ने भएको उनले जानकारी दिए ।

उनका अनुसार ऐनमा ट्राफिक संकेतहरू अन्तर्राष्ट्रिय प्रचलनमा भएका कुराहरू राख्‍नुपर्ने व्यवस्था छ । सडक संरचनाहरू यातायात व्यवस्था विभागले निर्माण गर्दैनन् ।

ट्राफिक सेफ्टीका लागि १ अर्ब बजेट विनियोजन

नीतिगत व्यवस्थाका कारण सडकमा राखिएको ट्राफिक बत्ती मर्मत गर्न नसकिएको उनको भनाइ छ । यसकै कारण तल्लो स्तरमा असर पर्ने गरेको उनले प्रस्ट पारे ।

‘सडक विभाग अन्तर्गत सडक भए पनि विभिन्न निकायको सडक रहेको अवस्था छ,’ उनले भने,’ स्थानीय तह अन्तर्गत सडक छन् । क्षेत्राधिकार भित्र कार्यान्वयनमा जान समस्या रहेको हुन सक्छ ।‘

सडक सुरक्षालाई ध्यानमा राखी सडक विभागले काम गरिरहेको उनले बताए । मुख्य कुरा सडकमा रहेको ट्राफिक बत्तीको मर्मत गर्नु पहिलो प्राथमिकता रहेको उनले उल्लेख गरे ।

शर्माले ट्राफिक बत्ती विभिन्न संघ-संस्थाले लगाएकाले मर्मत गर्न गाह्रो भएको बताए । बत्तीको मर्मत गर्न गाह्रो भएकाले ३२ वटा इन्टरकनेक्सन सुधारको परियोजना सुधार गर्न लागिएको प्रस्ट पारे ।

सडक ट्राफिक सेफ्टीका लागि विभागले करिब १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x