पूर्वाधार

भोजपुरको जरायोटार-सिक्रेटार सडक स्तरोन्‍नति गरिँदै

इकागज |
असार ३, २०८१ सोमबार २१:२५ बजे

भोजपुर- भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ । यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए । 

आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको हो । गाउँपालिकाबाट विनियोजन गरिएको रु एक करोड बजेटबाट उक्त सडक स्तरोन्नति गर्ने काम भइरहेको अरुण-७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिए । वडाको गौरवको योजनाको रूपमा रहेको उक्त सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ । 


'सडकलाई बाह्रैमास सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ,' वडाध्यक्ष थापाले भने । वर्षात्मा आवतजावत गर्न समस्या भएपछि यसअघि वडाले रु १५ लाख बजेट विनियोजन गरेर भोजपुर-लेगुवा सडकको शून्य विन्दुबाट करिब तीन किलोमिटर सडक स्तरोन्नति गरिएको उनले बताए । 

'सडक स्तरोन्नति गरिएपछि बाह्रैमास यातायातका साधन सञ्चालन गर्न सकिने छ,' उनले भने । चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याबिन जाली भर्ने, नाली कटाउने, पर्खाल लगाउने, ढलान गर्नेलगायतको काम भइरहेको छ । सडक स्तरोन्नति गरिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावत गर्न सहज हुने स्थानीय केदारप्रसाद अधिकारीले बताए । स्तरोन्नति गरिएपछि भोजपुरको सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेश गर्न सहज हुने छ ।


Author

थप समाचार
x