पूर्वाधार

यो वर्ष पनि नबन्‍ने भयो कमला नदीमा पुल

निर्माण सम्पन्‍न भएर उद्घाटन हुनुअगावै तीन वर्षअघि पुल भासिएको थियो

इकागज |
असार ६, २०८१ बिहीबार १५:२२ बजे

धनुषा- धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन ।

गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएङ्का थिए । उपप्रधानमन्त्रीसमेत रहेका महासेठले दिएको म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको प्रगति भने शून्य छ । 


'करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै हुनुपर्यो । नभए निर्माण कम्पनीलाई कारबाही गरी नयाँ प्रक्रिया अगाडि बढाउनुस्,' पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री महासेठले भनेका थिए । 

वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए । 

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसंं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । 

बिल्डर्सको कमाण्डमा निर्माण अन्तिम चरणमा पुगिसकेकाले विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको निर्देशक महतोले बताउनुभयो । उहाँका अनुसार १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो ।

पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले हालसम्म काम रोकिएको निर्देशक महतोको भनाइ छ । 'सरकारी निकायको कुनै पनि ठेक्का गर्दा रु १० लाखभन्दा बढीको आयोजनामा बीमा गराउनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार पुल निर्माण कम्पनीले बीमा गराएको थियो । पुल भासिएपछि बीमा कम्पनीले क्षतिपूर्ति नदिएपछि सोही विवादका कारण काम रोकिएको छ,' उनले भने ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णु शर्माले यो वर्ष पुल निर्माण सम्पन्न गर्न सम्भव नरहेको बताए । पुल पुनःनिर्माण गर्न हालसम्म डिजाइन पास नभएकाले निर्माण सम्भव नरहेको उल्लेख गरे ।

'पेस गरिएको डिजाइनमध्ये एउटा धनुषातर्फको पास भएको छ । केही दिनअघि मात्रै कम्पनीका तर्फबाट तयार गरिएको डिजाइन मन्त्रालयमा बुझाएका छौँ । सिरहातर्फको डिजाइन पास भएको छैन । अनि कसरी यो वर्ष काम हुन्छ ?' प्रबन्ध निर्देशक शर्माले प्रश्न गरे । वर्षामा नदीमा बाढी आउन सक्ने भएकाले आगामी असोज/कात्तिकबाट निर्माण अगाडि बढाइने उनको भनाइ छ ।

यही असार मसान्तसम्म निर्माणको म्याद रहेको भन्दै प्रबन्ध निर्देशक शर्माले म्याद थप गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले बीमा कम्पनीसँग उच्च अदालत काठमाडौँमा मुद्दा चलिरहेकाले निर्माणमा ढिलाइ भएको तर्क गरे ।  

प्रबन्ध निर्देशक शर्माका अनुसार पुल भासिएपछि बीमा कम्पनीसँग रु १२ करोड क्षतिपूर्तिको माग गरिएको थियो । 'बीमा कम्पनीले रु दुई करोडमात्रै दिने भनेपछि, कम्पनीविरुद्ध उजुरी दिएका छौँ,' उनले भने, 'उजुरीका आधारमा समस्या समाधान नभएपछि उच्च अदालत गएका हौँ । उच्च अदालतमा गत जेठ तेस्रो साता मुद्दा दर्ता गराएका छौँ ।' अहिले पुलमा सामान्य निर्माण भने भइरहेको उनले बताए ।

कमला नदीमा पुल नबन्दा धनुषा र सिरहाका नागरिकको जनजीवन प्रभावित हुँदै आएको सिरहा नगरपालिका–१७ का प्रविन यादवले बताए । 'पुलका कारण बर्खाको समयमा आफ्नै खेतबारीमा पुग्न पनि गाह्रो हुन्छ । आवागमनमा सास्ती हुनुका साथै यस क्षेत्रको आर्थिकस्तर, व्यापार–व्यावसायमा कमी हुँदै आएको छ,' उनले भने ।

यहाँका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिरहाका नागरिक गम्भीर प्रकृतिको उपचार गराउन जनकपुरधाम वा कोशी प्रदेशको राजधानी विराटनगर पुग्न समस्या हुने गरेको यादवको भनाइ छ । 

सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्दछ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्दछ । रासस


Author

थप समाचार
x