सिंहदरबारमा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ८१ प्रतिशत
'आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न मिल्ने गरी तीव्र रूपमा निर्माण हुँदै'
काठमाडौँ- सरकारले सिंहदरबारमा बनाइरहेको संघीय संसद् भवनको ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले नयाँ संसद् भवनको भौतिक प्रगति ८१ प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत रहेको जानकारी दिए । उनले आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न मिल्ने गरी निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाएको बताए ।
नयाँ संसद् भवन परिसरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका साथै पुस्तकालय तथा अतिविशिष्ट कक्ष निर्माणको संरचनात्मक काम सकिएको उनले बताए । उनले भवनको छत हाल्ने र आन्तरिक सजावटका महत्वपूर्ण काम बाँकी रहेको जानकारी दिए ।
त्यस्तै महर्जनले सिंहदरबारमा रहेको पुरानो संसद् भवनको संरक्षणका लागि पनि काम भइरहेको बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक-पटक म्याद थप गरिFदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया