पूर्वाधार

काठमाडौँका सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती, वडा भन्छ: छिट्टै बनाउँछौँ

इकागज |
असार ३०, २०८१ आइतबार १५:४९ बजे

काठमाडौँ– काठमाडौँमै समयमै सडक मर्मत नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ ।  काठमाडौँ महानगरपालिकाको ३१ नम्बर वडामा पर्ने बानेश्वरको रत्न राज्य स्कूल अगाडिको सडक समयमै मर्मत नहुँदा स्थानीयले सास्ती ब्यहोरेका हुन् । 

स्थानीय रामशरण नेपालले वर्षाका कारण सडक हिलाम्मे भएको र खाल्डाखुल्डीमा पानी जम्दा समस्या भएको बताए । पानी परेको समयमा पैदल हिँड्नै सकिदैंन उनले भने घाम लाग्दा धुलो र छारोले त्यतिकै समस्या बनाएको छ । काठमाडौँकै सडकको हालत यस्तो भएको भन्दै उनले सरोकारवाला निकायले समयमै समस्या समाधान नगरेकोमा आक्रोश पोखे । 'सडक विभाग, काठमाडौँ महानगर यही नै छ', उनले भने 'तर विगत एक वर्षदेखि यहाँको सडकको हालत खराब अवस्थामा छ ।'


करिब ३०० मिटर सडक कालोपत्रे नहुँदा अहिले  वर्षातका समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। स्थानीयले यो सडक निर्माणका लागि पटक-पटक वडा कार्यालयलाई गुहारेका छन् तर पनि सडक बन्न सकेको छैन । 

सडक नबन्दा दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ। सडक किनारमा दैनिकजसो हिँड्ने सर्वसाधारण तथा स्कुल जाने बालबालिकालाई हिलो छ्यापिने, मोटरसाइकल पल्टिएर दुर्घटना हुने गरेको स्थानीयले बताए ।

वडाका वडा अध्यक्ष सरोज ढकालले सडक विभागको लापरबाहीका कारण सडक नबनेको बताए । सडक विभागले टेण्डर आव्हान गरेर बाटो कालोपत्रे गर्न जिम्मा दिएपनि कालोपत्रे हुन नसकेको उनले बताए । पुरानो टेण्डर खारेज भएकाले अब वडालेनै बाटो बनाउने उनले बताए ।  

उनले वर्षा सकिएसँगै बाटो कालोपत्रे गरिने काम सुरु हुने जानकारी दिए । '३१ नम्बर वडामा सबै बाटो पिच भइसेकको छ' उनले भने 'त्यही एउटा बाटो बाँकी छ त्यो वर्षा लगतै नयाँ आर्थिक वर्षमा काम सुरु हुन्छ ।' 


Author

थप समाचार
x