Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

पूर्वाधार

धुलिखेल-खावा सडक : दुई दिनमा हेभी सवारी साधन गुडाउन पाउने गरी बाटो खुला हुँदै

इकागज |
असार ३१, २०८१ सोमबार १५:३२ बजे

काठमाडौँ- अरनिको राजमार्गमा (धुलिखेल जिरो किलो-खावा सडक खण्ड) निरन्तर वर्षाका कारण सडकमार्ग अवरुद्ध हुँदा हेभी सवारी साधनलाई आवतजावतमा समस्या भएको छ । स्तरोन्नति गरिएको सडकमा हिलोका कारण हेभी सवारी साधनहरू सहजै आवागमन हुन सकेका छैनन् ।

सडक डिभिजन भक्तपुरका इन्जिनियर तथा सूचना अधिकारी अमितकुमार वर्माका अनुसार हिलोमा ग्राभेल गरे पनि प्रभावकारी हुन नसक्दा सहजै आवागमन हुन नसकेको हो । मुख्य गरी हिलोका कारण सवारी साधनलाई आवागमनमा अवरोध आएको हो ।


सडक निर्माणका लागि ग्राभेल नसुकेसम्म यात्रा गर्न सहज नहुने उनको भनाइ छ । 'अहिले वर्षाको मौसम छ । वर्षा भएकाले अन्य अवस्थामा जस्तो सजिलो हुँदैन,' उनले भने, 'ग्राभेल गरेर रोलिङ हालेर मर्मत गरिसकेका छौँ ।'

मौसम सुधार भएको संकेत पाइएमा र सडकमा गरिएको ग्राभेल कसिलो भएमा भोलिबाट टिपर जस्ता ठूला सवारी साधन खुला हुने उनले जानकारी दिए । 'सडकमा गरिएको ग्राभेल कसिलो भएमा सडक खुला गर्न ढिला हुँदैन,' उनले अगाडि थपे ।

साउनदेखि विकास निर्माणको कार्य नहुने भएकाले सवारी साधनको चाप पनि कम हुनाले सडकमा धेरै क्षति नहुने उनको विश्वास छ । विकास निर्माणका सामग्री ओसारपसारमा सवारी साधनको आवागमन नहुने भएकाले धेरै सडक नबिग्रने उनले बताए ।

दुई किलोमिटर सडक खण्डमा मात्र समस्या देखिएको उनले जानकारी दिए । 'त्यसमध्ये चार-पाँच ठाउँमा समस्या देखिएको छ,' उनले प्रस्ट पारे, 'खावासम्म कुल चार किलो मिटर हो । दुई किलो मिटरसम्म ग्राभेल गरेर सडक मर्मत भइसकेको छ ।'

वर्षाले बिगारेको ठाउँमा पुनः भदौ १५ गतेबाट पिच गर्ने तयारी भइरहेको सूचना अधिकारी वर्माले जानकारी दिए । वर्षाले बन्दै गरेको काम पनि गर्न नसकेको र नभ्याएको उनले प्रस्ट पारे ।

 

 

 


Author

थप समाचार
x