पूर्वाधार

धुलिखेल–खावा सडक दैनिकजसो अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

इकागज |
भदौ १७, २०८१ सोमबार १५:१० बजे

फाइल फाेटाे

काठमाडौँ - अरनिको राजमार्ग अन्र्तगत धुलिखेल–खावा सडक दैनिकजसो अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडक खण्डको विस्तार र स्तरोन्नतिको काम समयमै सम्पन्न नहुँदा हिलोका कारण सडक दैनिकजसो अवरुद्ध हुने गरेको छ ।


हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य छन् । धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतिको कामको जिम्मेवारीको सम्हालेको निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र परेको हो ।

सडक खण्डको विस्तार र स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिबिच २२ महिनामा काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो ।

४ किलो मिटर सडकखण्डमध्ये २ किमि सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार, ४० प्रतिशत सम्पन्न भएको कार्य पनि पहिरोले बिगारेको हुनाले यसलाई फेरि दोहोर्याएर गर्नुपर्ने देखिएको छ ।  


Author

थप समाचार
x