पूर्वाधार

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

इकागज |
भदौ ३०, २०८१ आइतबार १५:४५ बजे

बझाङ - बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरू अलपत्र परेका छन् । पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए । उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताए । 


सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुई वटा जेसिबी पहिरो गएका स्थान नजिक राखिएका छन् । 'माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौँ', उनले भने । 

शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरू परिङाल नजिकैपर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताए । गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो ।
 


Author

थप समाचार
x