पूर्वाधार

बेलिब्रिज बगाउँदा अवरुद्ध बनेको अरनिको राजमार्गमा सवारी साधन चल्न थाले

इकागज |
असोज २०, २०८१ आइतबार १४:५३ बजे

काठमाडौँ - बाढीका कारण भोटेकोशी नदीले सिन्धुपाल्चोकको लार्चास्थित बेलिब्रिज बगाउँदा अवरुद्ध बनेको अरनिको राजमार्गमा सवारी साधन चल्न थालेको छ । 

लार्चामा अस्थायी पुल निर्माण भएसँगै सवारी साधनहरू चल्न थालेको हो । निरन्तर वर्षापछि आएको बाढीले गत शनिबार बेलिब्रिज बगाएको थियो । अरनिको राजमार्गको तातोपानी नाका अन्तर्गत पर्ने लार्चा खोलामा भोटेकोसी गाउँपालिकाले अस्थायी पुल बनाएको हो । 


अस्थायी पुल नजिकै सर्वसाधारणलाई पैदल आवतजावत गर्नका लागि बाँसको अर्को अस्थायी पुल समेत बनाइएको छ ।

अस्थायी पुल निर्माणको स्थलगत निरीक्षण गर्दै सिन्धुपाल्चोकका सांसद मोहन बहादुर बस्नेत लगायतका स्थानीय जनप्रतिनिधिहरूले पक्की पुल निर्माणको लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने जनाएका थिए ।

सांसद बस्नेतले बाढीपहिरोका कारण अरनिको राजमार्गका अन्य स्थानमा पनि ठूलो क्षति भएको भन्दै अधिकांश स्थानमा सडक खुलाइसकेको बताए । त्यस्तै खागदलमा बेलिब्रिज बगाएको स्थानमा पनि नयाँ बेलिब्रिज राख्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । 

यसअघि भूकम्प र बाढीपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असारमा भोटेकोशी बाढीले सडक र सीमा क्षेत्रका बस्ती बगाएको थियो । ०७४ मा लार्चाको मोटरबेल पुल बगाएपछि बेलिब्रिज हालिएको थियो । उक्त लार्चाको बेलिब्रिज हालैको बाढीले बगाएको थियो । 


Author

थप समाचार
x