पूर्वाधार

क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण

इकागज |
कात्तिक २३, २०८१ शुक्रबार १९:१५ बजे

गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

यसअघि कार्यालय पनि क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खाइमा थियो । जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ ।


उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए । 'जाइकाको प्रतिक्रियाको पर्खाइमा पनि छौँ, डिसेम्बर पहिलो हप्तासम्ममा जाइकाको निर्णय आएपछि निर्माण थालिनेछ,' इन्जिनियर योगेशले भने, 'पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौँ, नेपाल सरकारद्वारा तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफलसँगै सर्वे र डिजाइनको तयारी पनि सुरु भैसकेको छ ।' जाइकाले निर्माण नगरे करिब दुई महिनाभित्र सडकको पुनःनिर्माण गर्न डिभिजन सडक कार्यालय नै सुरु गर्ने उनको भनाइ छ । उक्त राजमार्गको सडक पुनःनिर्माण गर्न सात अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

विपी रानमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइएपनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखिनै साँझ छ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ ।

केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ ।

योगेशका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप छलफल भइरहेको छ । बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा गत असोज २५ गतेबाट सञ्चालन गरिएको हो ।

पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले बताए । उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ ।

बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमास्थल नेपालथोकसम्म क्षति पुर्‍याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । 'राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको स्थानमा हाललाई सडक सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएको हो,' उनले भने । उनका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बाटो सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।

पुनःनिर्माण सडक दुई लेनको हुने जनाइएको छ । भत्किएको ठाउँमा खोलाको बगरमै दुई लेनको पुल बनाउने वा भित्ता काटेर सडक बनाउने वा तलबाटै पर्खाल उठाएर सडक तयार गर्ने भन्ने तीन वटा अवधारणामा छलफल भइरहेको योगशले बताए । उनका अनुसार भत्किएका स्थानमा आवश्यकताअनुसार सयदेखि एक सय ५० मिटरसम्मका पुल ठाउँठाउँमा बन्नेछन् ।

कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब दस किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो । राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ ।

जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किमी ३५ करोड लागत थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १ दशमलव १ बिलियन (जापानी येन) लागतका उक्त राजमार्ग निर्माण भएको हो ।


Author

थप समाचार
x