पूर्वाधार

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने

इकागज |
मंसिर ३, २०८१ सोमबार २१:३१ बजे

फाइल फाेटाे

तनहुँ -  मुग्लिङ–पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।

पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो ।


जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनीलाई अनुरोध गरेको छ । 

मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ । 

राती १ बजेदेखि १.३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार यस सडक खण्डमा ४१ दशमलव ५ किमि दूरी रहेको छ । हालसम्म दुई लेनको ६३ किमि सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ । 

उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका  प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।  

“आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइनेछ,” उनले भने “यस राजमार्ग भएर गुड्ने सवारीसाधानले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । ”

उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ । 


Author

थप समाचार
x