पूर्वाधार

सहजपुर–निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा

इकागज |
पुस २६, २०८१ शुक्रबार १४:५२ बजे

सांकेतिक फोटो

कैलालीको चुरे गाउँपालिकामा झन्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ । विश्व बैंकको ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर–निगालीसम्म १४.८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो । 

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना व्यवस्थापन एकाइ धनगढीका प्रमुख जगतराज जोशीले सहजपुरदेखि गाउँपालिकाको केन्द्रसम्म सडक स्तरोन्नति हुने जानकारी दिए । सहजपुरदेखि चुरे गाउँपालिकाको केन्द्रसम्म साढे ६ मिटर चौडाइ र त्यसपछि सिंगल लेन सडक कालोपत्र हुने उनले बताए । उक्त सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरी सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापन एकाइ कार्यालय धनगढीले जनाएको छ । एकाइ प्रमुख जोशीले सडक क्षेत्रमा पर्ने रुख कटानका लागि आवश्यक प्रक्रिया सुरु गरिएको र सो काम सकिएपछि सडक स्तरोन्नतिको काम सुरु हुने बताए । 


यसैगरी, चुरे गाउँपालिका क्षेत्रभित्र ‘ट्र्याक’ खोलिएका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम भइरहेको छ । चौमाला–गर्भा दरबार, चौमाला–खैराला, सहजपुर–अलाडनिगाली, देउराली–मौरे सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए ।

चुरे गाउँपालिकास्थित ६ वटै वडा गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालले जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए । 


Author

थप समाचार
x