पूर्वाधार

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज

इकागज |
पुस २७, २०८१ शनिबार १८:५० बजे

खोटाङ - सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । गत असोज–१२ गतेको बाढीले मोटरेबल पक्की पुल बगाएपछि यहाँ अस्थायी बेलिब्रिज जडान गरिएको हो । 

खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार सिमानामा पर्ने फोक्सिङटारमा रु एक करोड दुई लाख ९४ हजारको लागतमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको लोकमार्गको गाईघाट–दिक्तेल योजना कार्यालय प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । 


 यो सडक खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने प्रमुख मार्गका रूपमा रहेको छ । नयाँ जडान गरिएको बेलिब्रिज ५० मिटर लम्बाई र साढे तीन मिटर चौडाइ रहेको छ । 

पुल बगाएको साढे तीन महिनापछि अस्थायी बेलिब्रिज जडान गरेसँगै खोटाङबाट पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क पुनःस्थापित भएको कार्यालय प्रमुख ज्ञवालीले बताए । 

आज बेलिब्रिजको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले दीर्घकालीन रूपमा समस्या समाधान गर्न मोटरेबल पुल निर्माणका लागि पहल भइरहेको बताए । 

हिउँदमा बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात सम्पर्क जोडिए पनि वर्षामा पुनःसमस्या हुने भन्दै स्थायी पुल निर्माणका लागि स्थानीयले आग्रह गरिरहेका छन् ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मङ्सिर–२८ गते ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यसअघि लामो समयपछि यहाँ एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो । दश वर्ष लगाएर बनाएको पुल विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो तर दुई वर्षमै पुल बगाएपछि फेरि समस्या भएको छ । 


Author

थप समाचार
x