पूर्वाधार

चार वर्षमा पनि सम्पन्‍न भएन सेती नदीमा पुल निर्माण

इकागज |
माघ ११, २०८१ शुक्रबार १९:४९ बजे

फाइल फाेटाे

तनहुँ - शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदीमा निर्माणाधीन एक सय ५० मिटर लम्बाइको पुल चार वर्षमा आधा मात्रै निर्माण भएको छ ।

हालसम्म जम्मा ५२ दशमलव १८ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त पुल निर्माण गर्न विसं २०७७ पुस ५ गते सम्झौता भएको सो कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । 


विसं २०८० जेठ २५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि काम नसकिएपछि अन्तिम पटकका लागि विसं २०८२ मङ्सिर २० गतेसम्मको म्याद थप गरिएको उनले बताए । 

पुल निर्माणका लागि १५ करोड ५९ लाख १७ हजार ६ सय ९९ मा एमएस महादेव खिम्ती अन्जनय पराजुली जेभीले ठेक्का लिएको थियो । उक्त पुल निर्माणमा हालसम्म रु आठ करोड १३ लाख ६२ हजार पाँच सय ३३ खर्च भएको तिवारीले जानकारी दिए । 

चालु आर्थिक वर्षमा जिल्लामा नौ वटा सडक पुल निर्माणाधीन छन् । त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ छन् । विस्तृत अध्ययन तयार भएको र अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छन् । चार वटा सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा छ भने बाँकी १९ वटा पुल कार्यान्वयनमा लैजान सक्ने अवस्थामा रहेको तिवारीले बताए । 


Author

थप समाचार
x