पूर्वाधार

ठेक्का सम्झौता भएको लामो समयसम्म पनि सडक कालोपत्र भएन

इकागज |
माघ २७, २०८१ आइतबार १५:२७ बजे

फाइल फाेटाे

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका रामबहादुर साउद ६ वर्षदेखि गाउँसम्म जोड्ने कालोपत्र सडक निर्माणको प्रतिक्षामा रहेका छन् । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत सडक कालोपत्र गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकोप्रति उनी असन्तुष्टि पोख्छन् । 

“सडक कालोपत्र गर्न ठेक्का भएको छ वर्ष नै बित्न लाग्यो”, उनले भने, “ठेक्काको जिम्मा लिएको निर्माण कम्पनीले काम नगर्दा खाल्डाखुल्डी भएको सडकमा हिँड्नुपरेको छ ।” सडकको ठेक्का लागेको केही महिनापछि गाउँमा नाली निर्माणको काम थालिएको थियो । कमसल इँटा र बालुवा प्रयोग गरी नाली बनाउन थालेपछि चौतर्फी विरोध हुँदा वडाध्यक्षले नाली नै भत्काइदिएपछि निर्माण व्यवसायी त्यसपछि काममा नफर्केको उनी बताउँछन् । 


प्रदेश सरकारले कलुवापुर–बेलौरी सडकलाई बेलडाँडी हुँदै नायल सडकमा जोड्ने योजना अघि सारेको स्थानीय बासिन्दा बताउँछन् । योजना अघि सारेको आधा दशक बढी भइसके पनि काम अगाडि बढ्न नसक्नु विडम्बना भएको स्थानीय टेकबहादुर साउदले बताए । 

“सडक पूरै धुलाम्मे छ”, उनले भने, “धुलो माटो उड्ने भएकाले सडक नजिकका घरभित्रसम्म धुलो पुग्छ, धेरै जनामा धुलोबाट श्वासप्रश्वासको समस्या बढ्दै गएको छ ।” सडकमा ठूलाठूला खाल्डाखुल्डी भएकाले वर्षात्मा ती खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटना हुने भय बढ्दै गएको उनी बताउँछन् । 

हिउँदयाममा धुलाम्मे, वर्षात्का बेला हिलाम्मे हुँदा सडकमा हिँडडुल गर्न र सवारीसाधन चलाउन समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । वडाध्यक्ष बहादुरसिंह महरा कमसल काम गरिन थालेपछि स्थानीयको दबाबमा नाली भत्काउनुपरेको बताउँछन् । 

दोयम किसिमको इँटा र स्थानीय खोलाको कमसल बालुवा प्रयोग गरेर नाली बनाउन थालेपछि गुणस्तरीय काम गर्न नाली भत्काइएको उनले बताए । तत्काल ठेक्का सम्झौताबमोजिम सडक स्तरोन्नति र कालोपत्रको कार्य नगरिए सङ्घर्षमा उत्रिनुको विकल्प आफूसँग नरहने अध्यक्ष महराले उल्लेख गरे । 

पटकपटक पूर्वाधार विकास कार्यालयलाई सडक कालोपत्रको कार्य अगाडि बढाउन आग्रह गर्दै आए पनि ठेकेदारको लापरवाहीको हवाला दिएर पन्छिने गरेको उनी बताउँछन् । कलुवापुरबाट झण्डै सात किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न सन्तोषी–थेगिम जेभीले निर्माणको जिम्मा लिएको छ । 


Author

थप समाचार
x