पूर्वाधार

तोकिएको समयमा काम सक्न मुख्यमन्त्री भट्टको निर्देशन

इकागज |
पुस ८, २०७८ बिहीबार १८:११ बजे

डाेटी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–बग्लेक सडकको कालोपत्रको काम ताकिएको समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । 

उक्त सडक निर्माण कार्यको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारबाही गरिने चेतावनीसमेत दिए । अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले भने, “अहिले कोरोना पनि खासै छैन, तोकिएको समयमा काम सक्नुस् बहनाबाजी गर्न पाइँदैन, काम नसके कारबाही हुन्छ ।”


सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटकको सजिलोका लागि तथा यहाँका नागरिकको आयस्तर वृद्धिका लागि उक्त सडक कालोपत्रे गर्न बजेट विनियोजन भएकाले तोकिएको समयमै काम सक्नुपर्ने मुख्यमन्त्री भट्टले निर्माण कम्पनीलाई आग्रह गरे ।

उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ४० करोड बजेट विनियोजन गरी काम सुरु भएको हो । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको उक्त सडक हेर्ने जिम्मा पाएका इञ्जिनीयर राजेन्द्र चौधरीले बताए।  


Author

थप समाचार
x