पूर्वाधार

‘बेँसीसहर–चामे सडकखण्ड बहुवर्षीय योजनामा विकास हुनुपर्छ’

इकागज |
माघ १५, २०७८ शनिबार १९:४१ बजे

मनाङ – हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र स्थलमार्ग बाढीपहिराले क्षति पुर्‍याएको छ । केही मर्मत गरी सवारीसाधन आवतजावत भए पनि सहज भने भएको छैन। वर्षायाममा बाढीपहिराले क्षति पुर्‍याएर मर्मत गरी सञ्चालन भएको मनाङको मेरुदण्ड बेँसीसहर–चामे सडकखण्डको अनुगमन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य, डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्त, इञ्जीनियर सुमन अधिकारीलगायत प्राविधिक टोलीले आज सडकखण्डको अनुगमन गर । अध्ययन तथा अनुगमनपश्चात उक्त टोलीले एक मात्र गण्डकी प्रदेशसँग जोड्ने सडकखण्डलाई बहुवर्षीय योजनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।


अनुगमनका क्रममा बाढीपहिराका कारण सडक क्षेत्रको माटो झर्ने, माटो कमसल रहेकाले बहुवर्षीय योजनाका रूपमा स्तरोन्नति गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । वर्षायाम सुरु हुन लागेको अवस्थामा मर्मत तथा सम्भारलाई तीव्रता दिने उद्देश्यले गरिएको अनुगमनमा प्राविधिकसहितको टोलीले अनुगमन गरेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख पन्तले जानकारी दिए ।

उनका अनुसार प्राविधिकको सल्लाहअनुरुप बहुवर्षीय योजनाका रूपमा स्तरोन्नति गर्नुपर्ने जनाएअनुसार सरकारले बजेट व्यवस्थापन गरेमा सहज हुने र सडक सुरक्षित तथा पक्की हुनेछ । “सडकअन्तर्गतको केही भागमा पहाड नै फोडेर सडक सुरक्षित बनाउनुपर्नेछ । प्राविधिकको अध्ययन, अनुगमनअनुसार यस सडकखण्ड निर्माणका लागि अनुमानित रु ५० करोड लाग्नेछ”, प्रमुख पन्तले भने, “सुरक्षित र पक्की सडक निर्माणका लागि मन्त्रालयबाट बजेट बढाएर आउने भएमा सहज हुने थियो ।”

“वर्षायाम सुरु हुनासाथ मर्मत तथा निर्माणकार्य थाल्नुपर्नेछ तर वर्षायाममा पानी पर्न थालेपछि सडक मर्मतमा समस्या सिर्जना हुन्छ । त्यस्तै हिउँदयाममा हिमपातले निर्माणमा समस्या हुन्छ”, उनले भने, “समयमा नै सरकारको चासो पुगेमा सडक मर्मत तथा निर्माणमा सहज हुनेछ ।”

वर्षायाम लाग्ने समय भएसँगै सडक अनुगमन गरी निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने भएपछि अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । “हिमाली जिल्लाको स्थलमार्ग एउटै छ । सुरक्षित बनाउनपर्ने अवस्था छ । प्रदेश र सङ्घ सरकारबाट सहयोग भएमा बहुवर्षीय योजनाका रूपमा अगाडि बढाउनुपर्छ । हिमाली जिल्ला मनाङलाई छुट्टै स्थानका रूपमा नभई अपनत्व हुने गरी स्थलमार्ग सहज बनाउनुपर्ने आवश्यकता देखिएको छ”, प्रजिअ आचार्यले भने ।

बेँसीसहर–चामे सडकखण्डको १०७ किलोमिटर रहेको छ । गत असार १ र त्यसपछि आएको बाढीपहिराले मनाङको मेरुदण्डका रूपमा रहेको बेँसीसहर–चामे सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेकामा केही भागमा मर्मतसम्भारपछि सञ्चालनमा आएको छ । यस सडकखण्डको केही स्थानमा मर्मतसम्भार गरेपछि अहिले सडक सञ्चालन भए पनि न त वर्षायाममा न हिउँदयाममा यहाँको काम गर्न सकिएको छ ।

मौसमको प्रतिकूलताले गर्दा सडक निर्माणमा समस्या हुँदै आएको छ । माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गरी सडक निर्माण गरिएको छ । त्यस्तै बाढीपहिराले क्षति पुगेको सडकखण्डअन्तर्गतको खोत्रो, तिमाङलगायत स्थानमा मर्मत तथा निर्माण गरी सडक हालका लागि सञ्चालनमा ल्याइएको छ ।

बाढीपहिराको क्षति पुर्‍याएको सडकमा सवारी आवतजावत भएपछि मनाङमा उत्पादित खाद्यवस्तु बजारसम्म पुर्‍याउनसमेत सहज भएको छ । बेँसीसहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटरमध्ये धेरै स्थानमा बाढीपहिराले क्षति पुर्‍याएको थियो । उक्त सडकखण्डको नेपाली सेनाको प्राविधिक टोलीले समेत बाढीपहिरापछि अध्ययन गरेको थियो । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोलीले बेँसीसहर–चामे सडकखण्डको नयाँ मार्ग खोल्ने प्रक्रियामा अगाडि बढाउने बताएको थियो । 

माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोलीले बेँसीसहर–चामे सडकखण्डको नयाँ मार्ग खोल्न खटिने जनाइए पनि हिउँद लागेसँगै सडक मर्मतमा हिमपातले रोकिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ । वर्षायाम लाग्ने बेला भएकाले अब भने सेनाले पनि केही कदम चाल्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x