मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु
काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उनले बताए। उनले भने, “तीनतीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ ।”
संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताए। त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ । सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने उनले बताए। त्यसपछि हेडवर्क र डाइभर्सन टनेल सफा गर्न सकिन्छ। उनले भने, “यी कामसँगसँगै गर्नुपर्ने भएकाले तीन ठाउँबाट काम गर्नुपर्छ ।”
अम्बाथान अडिटको लम्बाइ २९८ मिटर रहेको छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी–बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ । अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान गरिएको छ । उनका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ ।
मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ । यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ । सुरुङको मुख खोल्नासाथ केही दिनमा नै सफा गरिहाल्न सकिने उनले बताए। मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ । अहिले अडिट सुरुङ नै सुरुमा नै पूरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ । सो सुरुङभित्र गएको छ÷छैन भनेर मुख खोलेर हेरेर नै थाहा हुने उनले बताए।
बाढीपहिराले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’ पुरिएको हुनसक्ने र संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । यहाँ झन्डै तीनचार लाख घनमिटर लेदो रहेको, त्यो हटाउनु नै सबैभन्दा महत्वपूर्ण काम भएको सूचना अधिकारी पन्तले बताए । अहिले त्यो पूरै हटाउनेभन्दा पनि पानीसम्म जानसक्ने बनाउन लागिएको छ ।
अहिले नदी बगिरहेकाले त्यसैलाई सहयोग हुने गरी दायाँबायाँबाट गिट्टी बालुवा झिकेर हटाइने छ। अहिले हेडवर्कमा रहेका सबै लेदो हटाउनेभन्दा पनि पानीसम्म बगाउने गरी सफा गरिनेछ । हेडवर्कको गेट नं ९, गेट नं १ र अम्बाथान अडिट नजिकै गरी तीन ठाउँमा अहिले काम गनुपर्नेछ । नौ नं गेट र एक नं गेटमा समस्या भए पनि अस्थायी रुपमा चलाउन सकिन्छ भन्नेछ ।
चैतसम्ममा पानी चलाउन सकिएमा जेठसम्म चल्यो भने सुरुङमा केही भएको छैन भन्ने बुझिने सूचना अधिकारी पन्तले बताए। ‘हेडवर्क’ मा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बन्नसक्छ ।
मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ । अहिले पनि सुन्दरीजल, सिन्धु र ग्यालथुमबाट पानी निकालिरहेको छ। अम्बाथान र ग्यालथुम बीचको खण्डमा पानी भरिएको र त्यो खण्डमा अम्बाथान अडिट टालिएकाले निकाल्न नसकिएको सूचना अधिकारी पन्तले बताए। त्यो खण्डमा पानी रहेको छ भने अम्बाथान अडिट दुई हप्ताभित्र खोल्न सकेमा पानीबाहिर निकाल्न सकिन्छ । त्यसपछि सुरुङ निरीक्षण गरिने उहाँले बताए । माघभरमा सुरुङ खोल्न सकेमा फागुनमा निरीक्षण हुने बताए । तीन खण्डमा निरीक्षण गर्दा एक हप्तामा सकिने गरी योजना बनाइएको छ । उनले भने, “निरीक्षणका लागि तीन टोली खटाउन सकिन्छ ।”
फागुन पहिलो साता निरीक्षण सकियो र सुरुङभित्र कुनै समस्या छैन भन्ने भएमा फागुन अन्तिमसम्ममा पानी ल्याउन अरू काम गर्न सकिने छ । अब गर्नुपर्ने काममा ‘कफर ड्याम’ बनाउने, हेडवर्क गेट नं ९ खोल्नेलगायतका छन् । चैतको एकदुई साता काम गर्नुपरे पनि अन्तिमसम्ममा ल्याउन सकिन्छ ।
काठमाडौँ उपत्यकावासीको धारामा चैतभित्रमा आउनसक्ने गरी योजना बनाइएको आयोजनाले बताउँदै आएको छ । अहिले गर्नुपर्ने तीन ठाउँमा सफा गर्न कति समय लाग्छ पानी पथान्तरण गर्ने कुरा त्यसमा निर्भर रहन्छ । उहाँका अनुसार ती संरचनामा कति क्षति पुगेको छ भनी खोलेर हेरेपछि मात्रै थाहा हुन्छ । उनले भने, “कम्पनीले काम सुरु गरिसकेकाले अबको दुईतीन दिनमा भित्रको अवस्था के छ भनी थाहा हुन्छ ।” रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया