बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल बन्दै
बेनी- कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् । केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ । कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।
सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखगरेबगरस्थित वडा नं २ र ६ को सिमानामा कालीगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर ७० मिटर लामो ११ मिटर चौडाइ भएको पक्की पुल निर्माण भएको छ ।
भ्याटसहित रु आठ करोड २४ लाखमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले कोरोना महामारीलगायतका कारण समयसीमाभन्दा केही थप समय लिएर पुल निर्माण सम्पन्न गरेको विभागका पश्चिम सेक्टर कार्यालयका इञ्जीनियर आशिक रिजालले जानकारी दिए। कोरोना महामारी, बाढीपहिरालगायत कारण निर्धारित समयमा सम्पन्न नभएपछि गत वर्ष पुस मसान्त २०७८ सम्म सम्पन्न गर्ने गरी एक वर्षको म्याद थप गरिएको थियो।
यसअघि महभिरस्थित अन्नपूर्ण–७ र रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ जोड्ने गरी कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माण भइसकेको छ। ८० मिटर लामो र ११ मिटर चौडाइ भएको यो मोटरेबल पुल भ्याटसहित रु नौ करोड नौ लाखमा ठेक्का सम्झौता भएर काम गरिएको विभागले जनाएको छ। गत असोजमा नै काम सम्पन्न गरी हाल पुलमा यातायात सञ्चालन हुँदै आएको छ।
पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले ठेक्का लिएको थियो । एघार–एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइनसमेत गरी पुल निर्माण गरेको हो । विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए । दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बाढी पहिराका कारण निर्माणको समय एक वर्षपछि धकेलिए पनि सरकारले थप गरेको समयसीमाभित्रै पुल निर्माणको काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा नौवटा मोटर चल्ने पुल निर्माण सम्पन्न भएका छन् । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत थप १२ वटा पुल निर्माणाधीन रहेको आयोजना प्रमुख जगत् प्रजापतिले जानकारी दिनुभयो । उनका अनुसार थप पाँच ठाउँमा पुल निर्माणको लागि प्रस्ताव गरिएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया