पूर्वाधार

मुडे-चरिकोट सडक कालोपत्रे गर्न तीन दिन बन्द

इकागज |
फागुन ६, २०७८ शुक्रबार २१:१ बजे

फाइल फोटो

चरिकोट : लामो समयदेखि अलपत्र परेको दोलखाको मुडे चरिकोट सडकखण्ड निर्माणको क्रममा अवरुद्ध हुने हुँदा हप्तामा तीन दिन सवारीसाधन आवागमन बन्द गरिने भएको छ । सडक कालोपत्रे गर्नका लागि विभिन्न स्थानबाट एकैसाथ निर्माणको काम भइरहेको हुँदा सवारी साधनलाई समस्या हुने र निर्माण कार्यमा समस्या हुने भएपछि प्रत्येक हप्ताको मङ्गलबार, बुधबार र बिहीबार तीन दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलखबहादुर आलेले बताए । 

जिल्ला प्रशासन कार्यालय दोलखामा आज निर्माण कम्पनी, सरोकार पक्ष, राजनीतिक दल तथा सुरक्षा निकायको बीचमा भएको छलफलमा सडक तीव्र गतिमा निर्माण गर्नुपर्ने बाध्यता रहेको र दिउँसोको समयमा सवारीसाधन आवागमन रोक्ने निर्णय भएको हुँदा उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आलेले सवारी चालकलाई आग्रह गरे । 


निर्माणको जिम्मा लिएर छ वर्षदेखि अलपत्र रहेको मुडे चरिकोट सडक नागरिकको चर्को विरोधपश्चात हाल धमाधम निर्माण भइरहेको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी ३० किलोमिटर सडक निर्माणको जिम्मा दिएको कम्पनीले छ वर्ष बितिसक्दा पनि निर्माण कार्य बीचमा नै छोडी अलपत्र पारेपछि जिल्लावासीले चर्को विरोध गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो । 

दुई वर्षमा सक्ने काम छ वर्षसम्म विभिन्न बहानामा तीन पटकसम्म निर्माणका लागि म्याद थप गरे पनि निर्माण हुन सकेको थिएन । भारतीय निर्माण कम्पनी सकिद हैदर र शङ्कर मालि सुनौलो खिम्ती जेभीले निर्माणको जिम्मा लिएकामा केही वर्षअघि पाँच किलोमिटर सडक निर्माण गरी मिटरब्याजी तथा चेक बाउन्सका कारण ठेकेदार सम्पर्कविहीन बनेको थियो । 

जेभी कम्पनी रहेको र निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तथा ठेक्का सम्झौता खारेज गर्नका लागि सडक विभागले प्रक्रिया अगाडि बढाएपछि जेभीवाला अर्को ठेकेदार काममा फर्किएको छ । यो वर्षसम्म सडक निर्माण सम्पन्न गरी सक्नुपर्ने बाध्यता रहेका कारण चरिकोट मुडे बोचलगायत विभन्न ठाउँबाट धमाधम निर्माण कार्य भइरहेको छ । रासस 
 


Author

थप समाचार
x