पूर्वाधार

भिमफेदी–काठमाडौं सडक

ठेक्का अवधि ४ महिना बाँकी, कार्य प्रगति १८ प्रतिशत मात्रै

सरिता दाहाल |
फागुन २५, २०७८ बुधबार १६:४ बजे

मकवानपुर– २ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएको काम समयको समयअवधि चार महिना बाँकी हुँदा कार्य प्रगति भने बल्ल १८ प्रतिशत पुगेको छ । तोकिएको समयसीमा भित्र काम सकिने गरी रफ्तारमा नहुँदा बागमती प्रदेश सरकारले दिएको एउटा ठेक्का सुरु भएको २० महिना बितिसक्दा कार्य प्रगति बल्ल १८ प्रतिशत पुगेको हो ।

मकवानपुरबाट छोटो मार्ग हुँदै काठमाडौ पुग्ने सडक स्तरोन्नतिका काममा ढिलाई हुँदा यात्रुहरु समस्या भोग्न बाध्य भएका छन् । भीमफेदी–काठमाडौं छोटो दूरीको मार्ग अन्तर्गत मकवानपुरको भैँसेदेखि भीमफेदीसम्मको सडकको स्तरोन्नति कार्य सुस्ताएपछि संघीय राजधानी काठमाडौं आवतजावत गर्न मात्रै हैन, भीमफेदी गाउँपालिकाबाट प्रदेश राजधानी हेटौंडासम्मको यात्रा पनि धेरै कठिनाई भएको छ ।


सम्झौता भएको डेढ वर्ष नाघ्दासम्म सो सडक स्तरोन्नतिको काम उल्लेख्य नभएको हो। यो बीचमा कार्य प्रगति  १८ प्रतिशत मात्रै सकिएपछि बजेट र समय थप गर्ने पक्षमा लविङ सुरु भएको बुझिएको छ । 

ठेकदार कम्पनीले ठेक्का लम्ब्याउने पक्षमा विभिन्न बाहानाबाजी गर्न थालिएको र बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौंडा ठेक्का अवधि थप गर्ने तयारी थालेको बुझिएको छ । हालसम्म सडक फराकिलो पार्ने, रिटेण्डीङ वाल (पर्खाल) लगाउने जस्ता केही मात्रै कार्य भएको छ। भैँसेदेखि केही माथिबाट सडकलाई डाइभर्सन गरेर खोलाबाट सवारी सञ्चालन गरिएको छ भने निर्माण कम्पनीले सडकमा स्काभेटर प्रयोग गरेर खन्ने, माटो पन्छाउने जस्ता कार्य गरिरहेको छ । 

०७७ को २४ असारमा ३८ करोड ७८ लाख ८९७ रुपैयाँ लागतमा सडक स्तरोन्नति कार्यको ठेक्का सम्झौता गरिएको थियो। स्तरोन्नतिका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको प्रदेश यातायात पूर्वाधार कार्यालयले निर्माण कम्पनी आशिष/डिएस जेभीसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले आगामी २०७९ सालको असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने हुन्छ ।

करिब ११ दशमलब ५ किलोमिटर लम्बाइको सो सडकलाई १० मिटर फराकिलो बनाउने उद्देश्य अनुसार काम सुरु गरिएको थियो । निर्माण कम्पनीले सो सडक चौडा पार्ने, नाला निर्माण गर्ने, तार जाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गरेर हस्तान्तरण गर्नुपर्ने प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

सडक स्तरोन्नति गर्नुपर्ने स्थान भैंसे–भीमफेदी सडकमा केही निजी घर परेकाले मुआब्जा विवाद छ। कोरोना संक्रमण जोखिमले पनि सडक स्तरोन्नति कार्यमा प्रगति नभएको प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक सहदेवबहादुर भण्डारी बताउँछन्। केही मुअाब्जा विवादको व्यवस्थापन गर्नुपर्ने र कोरोना महामारीको कारण पनि समस्या भएको उनले बताए।

भीमफेदी गाउँपालिकाको २, ४ र ६ नम्बर वडा हुँदै सडकको स्तरोन्नति गर्नुपर्ने भएकोले ती क्षेत्रमा करिब ४० घरहरु  छन्। देखिएको विवाद लगभग सहमति नजिक पुगेका मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी आवास क्षेत्र ४ नम्बर वडामा परेको थियो । 

स्थानीय तह र जनप्रतिनिधिहरुको रोहवरमा विवाद सहमतिमा पुर्या‍इएको र निजी घरहरुको मुआब्जा वितरणको तयारीमा रहेको भण्डारीले बताए । उनका अनुसार करिव ४० घर परिवारलाई २ करोड २१ लाख ८३ हजार रुपैयाँ मुआब्जा दिइनेछ ।
बाटो निर्माणको काम जारी रहेकोले आवतजावतमा समस्या भएको र निर्माण कार्य रफ्तार बढाउनुपर्ने मकवानपुरको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए। ‘मुआब्जाको कारण भएका स्थानीय विवादहरु सुल्झाउने काममा हामीले पनि सहजीकरण ग¥यौ, तर कामको रफ्तार ढिलो भएकाले समस्या भोग्नु परेको छ’ अध्यक्ष लामाले भने । 
 


Author

थप समाचार
x