पूर्वाधार

प्राथमिकता प्राप्त आयोजनामा कोषको एक खर्ब ८३ अर्ब लगानी

इकागज |
चैत ४, २०७८ शुक्रबार १९:२९ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि विश्वासिलो स्रोतका रुपमा रहेको नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८३ अर्ब २१ करोड लगानी गरेको छ । 

सो अवधिमा कोषले मुद्दती निक्षेपमा एक खर्ब पाँच अर्ब ९१ करोड, सरकारको ऋणपत्रमा एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर/धितोपत्रमा १६ अर्ब ७३ करोड, सहभागी सापटी तथा आवास कर्जामा ३६ अर्ब एक करोड र समयकालीन कर्जामा रु २१ अर्ब ६४ करोड लगानी गरेको छ । 


चालु आवको ६ महिनामा कोषको खुद कोष मौज्दात एक खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको ३२ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए । 

उनले सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकतामा राखी कोषले लगानी गर्दै आएको बताए । कार्यकारी निर्देशक नेपालले आगामी दिनमा कोषको लगानी पूर्वाधार विकासका क्षेत्रमा बढाउने प्रतिबद्धता व्यक्त गरे । 

विसं २०४८ मा स्थापना भएको कोषले विभिन्न १२ वटा योजनामार्फत आठ लाखभन्दा बढी सहभागीलाई आबद्ध गराई आफ्नो सेवा देशभर विस्तार गरेको उनले बताए । कोषले सञ्चालनमा ल्याएका योजनामा सहभागी हुने सम्भावना भएका सङ्घसंस्थालाई आबद्ध गर्न र ती संस्थाको दीर्घकालीन दायित्वलाई व्यवस्थापन गर्न/गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौँ बाहिर विराटनगर, पोखरा तथा बुटवलमा शाखा कार्यालय सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

कार्यकारी निर्देशक नेपालले आगामी वर्ष सुदूरपश्चिमको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा शाखा कार्यालय विस्तार गरिने बताए । 

पूँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । 

कम्पनीमा कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको नौ प्रतिशत शेयर स्वामित्व रहेको छ । तीस प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याइएको छ । 

नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर हो । स्टक डिलरले पूँजी बजारको विकास, विस्तार र विस्वसनीयतामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । 

कोषले विभिन्न सात प्रकारका योजना सञ्चालनमा ल्याएको छ । कोषले कर्मचारी बचतवृद्धि कार्यक्रम स्वीकृत अवकाश कोष योजना, अवकाश कर्जा, राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम, लगानीकर्ता हिसाब योजना, उपदान कोष योजना, नागरिक एकाङ्क योजना र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । 
रासस


Author

थप समाचार
x