सर्लाहीको धन्कौलमा भीषण आगलागी, १३ घर जलेर नष्ट
सर्लाही - जिल्लाको धन्कौल गाउँपालिका- ५ मा भीषण आगलागी भएको छ । आगलागीबाट १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो धनकौल गाउँपालिका–५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । एउटा घरमा आंशिक क्षति पुगेको छ । दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरु भएको प्रत्यक्षदर्शीको भनाइ छ । सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै एक घण्टा लागेको थियो ।
आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका–५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए । वडाध्यक्ष महतोका अनुसार आगलागीबाट अधिकांश फुसको छानो भएका कच्ची घर जलेका छन् ।
आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको हो । आगलागीको एकिन कारण नखुले पनि खाना पकाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ । आगलागीबाट स्थानीय एक्कासि आगलागी भएको स्थानीयको भनाई छ । सोही समयमा तीव्र गतिमा हावा चलेको कारण आगलागी नियन्त्रणमा आउन केही ढिला भएको र धेरै क्षति हुन पुगेको वडाध्यक्ष महतोले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा र अन्नपात जलेर नष्ट भएको थियो ।
आगलागी स्थानीय, सुरक्षाकर्मी र सदरमुकाम मलङ्गवा तथा हरिवन नगरपालिकाको वारुण यन्त्रको सहयोगले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए ।
क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीपछि विपन्न पीडितहरूको बिचल्ली भएको छ । पीडितहरू छिमेकीको घरमा शरण लिएर बसेका वडाध्यक्ष महतोले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया