पूर्वाधार

बागमती नदीमा पक्की पुल

इकागज |
बैशाख १२, २०७९ सोमबार १५:२१ बजे

फाइल फोटो

बागमती - बागमती प्रदेशको राजधानी हेटौँडा र सिन्धुली जोड्ने  सडकखण्डअन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ ।    सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटौँडाले जनाएको छ । पुल निर्माणले सो क्षेत्रको आवागमन सहज भएको छ । 
 
विसं २०६८ असार २९ गतेदेखि सुरु भएको सो पुल ११ वर्षपछि निर्माण भएको र सो पुलबाट सवारी साधन आवागमन सुरु भएको छ । सडकको दायाँबायाँ  एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ । 

जम्मा ११ वटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताउनुभयो । सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौँडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखालगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो । 


तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा  देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ 

मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म कूल ११५ किमी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
 
रु २० करोड ६२ लाखमा निर्माण हुने सो पुल पाँच वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो । 

पटकपटकको म्याद थप हुँदासमेत काम नगरेपछि १० प्रतिशतको हर्जनासमेत असुल उपर गरी पुल निर्माण सम्पन्न गराइएको उक्त कार्यालयका प्राविधिकले जनाएको छ ।   रासस


Author

थप समाचार
x