पूर्वाधार

लूम्बिनीको मृत्युमार्गमा सुरुङ सपना

सिद्धबाबा सुरुङमार्ग योजना फेरि अलपत्र

पहाड काट्ने प्रदेश सरकारको प्रस्ताव

बिक्रम खड्का |
चैत १३, २०७७ शुक्रबार ७:४३ बजे

बुटवल : मृत्युमार्गका नामले परिचित बुटवल-तानसेन सडकखण्डको सिद्धबाबामा बनाईने भनिएको सुरुङमार्ग अलपत्र परेको छ । लामो समयदेखि सरकारले सुरुङ निमार्ण गर्ने भन्दै बजेट विनियोजन गर्दै आएको थियो । पटक पटक सरकारले सुरुङमार्ग आयोजनाको पूर्वसम्भाव्यता अध्ययन (प्रि–फिजिविलिटी) र डिपिआर निमार्णको काम अघि बढाएको थियो ।

केहि समय अघि मात्र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले सुरुङमार्ग आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । यस्ता अध्ययनका कतिपय रिर्पोटहरु नै सार्वजनिक गरिएको छैन । 


चालु आर्थिक वर्षमा सुरुङमार्गको लागि १० अर्ब रुपैया अर्थ मन्त्रालयले छुट्याएको थियो । ठेक्का प्रक्रियाको लागि सडक विभाग अन्तर्गतको गुणस्तर अनुसान्धान तथा विकास केन्द्रले कागजात पनि तयार पारेको थियो । कागजात सहितको फाइल अहिले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)मा अड्किएको छ ।

सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पुर्व मन्त्री सोम प्रसाद पाण्डे सुरुङमार्ग बनाउनुपर्ने पक्षमा छन् । तर प्रदेश सरकारले फरक प्रस्ताव राखेपछि सुरुङ सपना अलपत्र परेको हो । 

प्रदेश सरकारको फरक प्रस्ताव 

लुम्बिनी प्रदेश सरकारले निर्माण समाग्री निकाल्न र पहिरोको समस्या समाधान गर्न सिद्धबाबा क्षेत्रको पहाड काट्ने प्रस्ताव संघीय सरकारसमक्ष पेश गरेको छ । अर्थ मन्त्रालयको समेत लगानीबाट सञ्चालन गर्न सकिने आयोजना पेश गर्न प्रदेश र स्थानिय तहहरुलाई आग्रह गरिएको थियो । जस अनुसार लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा क्षेत्रको पहाड काटेर सडक फराकिलो बनाउने प्रस्ताव पेश गरेको हो । 

यस योजनालाई ‘सिद्धबाबा कृतिम पठार परियोजना’ नाम दिइएको छ । परियोजनाको लागि पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको लुम्बिनी प्रदेशका प्रदेश योजना आयोगका सदस्य डा. विष्णु गौतमले जानकारी दिए । उनले विभिन्न सिद्धबाबा क्षेत्रबाट निस्केका ढुंगा माटोलाई विकासका कार्यमा उपयोग गर्न सकिने बताए । उनले पहाड काटेर निस्केको जग्गामा आइटी पार्क, होटल लगायत पूर्वाधार पनि बन्न सक्ने उल्लेख गरे ।

पहिरोको समस्या नहुने गरी चुरेबाट माटो र ढुंगा निकाल्न सकिने प्रदेश सरकारको प्रस्तावमा उल्लेख छ । यसरी पहाड काट्दा त्यहाँबाट एक खर्ब रुपैया बराबरको ढुंगा गिट्टी निकाल्न सकिने डा. गौतमको भनाइ छ । 

‘झण्डै एक खर्ब बराबरको निर्माण सामाग्री निकाल्न सकिन्छ’ उनले भने । यसरी चुरेको पहाड काट्न १० वर्षको समय लाग्ने अध्ययनले जनाएको छ । सिद्धबाबा कृतिम पठार परियोजनालाई अघि बढाउने हो भने सुरुङ मार्ग आवश्यक नपर्ने प्रदेश योजना आयोगका सदस्य डा. गौतमको भनाइ छ ।

‘हाम्रो परिकल्पना साकार भयो भने सिद्धबाबा क्षेत्रमा सडकको लागि सुरुङ मार्ग अवश्यक पर्दैन’, उनले भने ‘सुरुङ मार्ग बन्ने नै भएपनि हामीले प्रस्ताव गरेको परियोजनाले कुनै असर गर्दैन । सुरुङ मार्गको लागि ठाउँ छोडेर डिजाइन गरेका छौ ।’

एकपछि अर्को योजना 

ठुलो मानवीय क्षति हुने सिद्धवावा सडक खण्डका विषयमा पटक पटक फरक फरक योजना बन्ने गरेका छन् । कहिले ‘रकनेट’ त कहिले सुरुङमार्गको सपना बाडिएको छ । त्यतिमात्र होईन, बैकल्पिक सडक मार्गको चर्चा पनि उत्तिकै हुने गरेको छ ।  रुपन्देहीको चरङगे-बसन्तपुर-झुम्सा सडकको बैकल्पिक योजना अघि बढेको छ । जसको ट्रयाक खोलिए पनि अरु योजना अघि बढ्न सकेको छैन । 

रकनेटका लागि काठमाडौको एक कम्पनीले दुई वर्षसम्म केहि संरचना निमार्ण गरेर पहिरो रोक्ने परिक्षण पनि गरेको थियो । अहिले प्रदेश सरकारले सडक काट्ने योजना प्रस्तावका रुपमा अघि बढाएको हो । रुपन्देही र पाल्पा लगायतका जिल्लामा मुख्य चुनावी नारा बन्ने गरेको सिद्धबाबा सडक कहिले सुरक्षित मार्ग बन्छ ? भन्ने आम नागरिकको प्रश्न छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x