बीमा

आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त

इकागज |
भदौ ५, २०८१ बुधबार १६:२४ बजे

काठमाडौँ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकारी नेतृत्वमा नयाँ ऊर्जा भर्न खिलेन्द्र पौडेललाई नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ। आइएमई लिमिटेड र जिएमईको मर्जरपछि पौडेलले आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छोड्दै आइएमई लाइफमा नयाँ भूमिका लिएका छन्।​

आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका पौडेल रेमिट्यान्स भुक्तानी प्रणाली, फिनटेक, डिजिटल वालेट, र अन्तरदेशीय कारोबारमा विशेषज्ञता राख्छन्। आइएमई ग्रुपले प्रवर्द्धन गरेका अन्य वित्तीय संस्थाहरूमा पनि उच्च व्यवस्थापनको अनुभव बटुलेका पौडेल स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, र आइएमई डिजिटल सोलुसनलगायतका कम्पनीमा सञ्चालकको रूपमा कार्यरत थिए।


पौडेलले त्रिभुवन विश्वविद्यालयबाट एमबिए फाइनान्स गरेका छन् । भारतको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स, र अमेरिकाको हार्भर्ड केनेडी स्कुलबाट वित्तीय व्यवस्थापन र नीति डिजाइन्सम्बन्धी उन्नत शिक्षा लिएका छन्।

पौडेलको उच्च तथा व्यावसायिक शिक्षासँगै व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफ इन्स्योरेन्सको रणनीतिक व्यावसायिक साझेदारी निर्माण र बिमा क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। पौडेलले आइएमई लाइफलाई थप उचाइमा पुर्याउने अठोट व्यक्त गरेका छन्।


Author

थप समाचार
x