मुम्बईबाट काठमाडौं फर्केकी उपासनाको ‘स्टारडम’
‘लक्ष्य हासिल गर्न जिद्दी हुनैपर्छ’
काठमाडौं : संगठित क्षेत्रका स्थापित कम्पनीहरुमा ‘मिड-करिअर प्रोफेसनल’हरुमा महिलाहरुको उपस्थिति बाक्लो देखिन्छ । उच्च तहहरुमा क्रमशः त्यो संख्या पातलो हुँदै गएको देखिन्छ भने व्यवस्थापनको सबैभन्दा माथिल्लो तह प्रमुख कार्यकारी अधिकृत, कार्यकारी निर्देशकसम्म पुग्ने महिलाहरुको संख्या अझै हातमा गन्न सकिन्छ ।
तिनै सीमित महिला सीईओहरुको सूचीमा हालसालै थपिएको अर्को नाम हो उपासना पौडेल । एक वर्षदेखि युनाइटेड इन्स्यारेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासनालाई करिब तीन साता अघि सञ्चालक समितिले निमित्त सीईओ जिम्मेवारी दिएको हो ।
दुई सयभन्दा बढी कर्मचारीको नेतृत्व गर्दै कम्पनीको विस्तार र उत्थानशीलतामा तल्लीन उनी ३५ वर्षको उमेरमै सीईओको जिम्मेवारीमा पुगेकी छिन् । मुम्बईमा आइसीआइसीआइ लोम्बार्ड जनरल इन्स्यारेन्समा काम गर्दादेखि नै सीईओका लागि तैयार गरिएका कर्मचारीहरुमध्ये एक हुन् । उनले काम गरेका जुनसुकै कम्पनी हुन्, उपासनाको करिअरको ग्राफ कहिले तेर्सो भएन, तीव्र उकालो लाग्यो । उनलाई सीईओको रुपमा प्रक्षेपण गरेर सोही अनुसार नेतृत्व विकास गराएको आइसीआइसीआइ मुम्बईमा होइन, त्यहाँ सिकेको ज्ञान, सीप र अनुभव उनले स्वदेशमै प्रयोग गर्दैछिन् ।
मुम्बईबाट स्वदेश फर्केपछि काठमाडौंमा उनको ‘स्टारडम’ सुरु भएको छ । काठमाडौंको समाजमा व्यवस्थापनको प्रमुख पदलाई ‘ग्ल्यामर’को रुपमा लिइन्छ । यद्यपि, उपासना यसलाई मान्न तैयार छैनन् । ‘अहिलेको पुस्ता ‘हार्ड वर्क’ गर्ने होइन, ‘स्मार्ट वर्क’ ले छिटो करिअर विकास हुन्छ भन्ने मान्यता पालेको पाइन्छ,’ उनले भने भनिन्, ‘कठीन मेहनत नगरी स्थापित हुन सकिदैंन, भए पनि दिगो हुँदैन ।’
सफलताको मन्त्र हो, ‘काम थाती नराख्ने ।’
के उपासना वर्कहोलिक हुन् ? काममा डुबिरहने । उनी भन्छिन्, ‘काममा लगावले नै म यहाँसम्म आइपुगेकी हो ।’ १५ महिनाको बच्चा छ, यद्यपि उनी कार्यालयमा नभ्याएको काम घरमै लगेर पनि गर्छिन् । सफलताको मन्त्र हो, ‘काम थाती नराख्ने ।’ नयाँ पुस्तालाई उनको सुझाव मेहनत त गर्नैपर्छ । मेहनतले काम परिपक्व हुन्छ भने जस्तोसुकै दबाब नि थेग्न सक्ने क्षमता हुन्छ । यसले जोखिम वहन गर्ने आँट पनि दिन्छ, पार पनि लगाउँछ ।
व्यवस्थापनको उच्च पदको नेतृत्व त प्रतिफलमा वा कम्पनीको सुधारमा सञ्चालक समितिसँग गरिने करार पनि हो । प्रतिफल नदिए या दिन्छ भन्ने विश्वास नभइ कुनै पनि सञ्चालक समितिले कुनै व्यक्तिलाई सीईओ नियुक्ति गरिहाल्दैन । सबैको हकमा त्यही लागू हुन्छ ।
काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट स्नातक उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि उनी दिल्ली विश्वविद्यालयको व्यवस्थापन अध्ययन संकाय (फ्याकल्टिज अफ म्यानेजमेन्ट स्टडिज्)मा पुगिन् । त्यहाँबाट मार्केटिङमा एमबीए गरेपछि उनको प्लेसमेन्ट कमिन्स इण्डिया लिमिटेडमा भयो । उनको करिअरको प्रस्थानबिन्दू त्यही थियो । प्राज्ञिक पृष्ठभूमी र कामप्रतिको लगावको मिश्रणले उनलाई कमिन्समै मार्केटिङ र स्ट्रेटेजीको वरिष्ठ प्रबन्धक बनायो ।
बिमा क्षेत्रमा उनको प्रवेश भने सन् २०१२ को सुरुवातदेखि भएको हो, मुम्बईस्थित आइसीआइसीआइ लोम्बार्ड जनरल इन्स्यारेन्सबाट । त्यहाँ सेल्स एण्ड मार्केटिङमा काम गर्ने महिलाहरुको उपस्थिति त्यसबेलासम्म पनि पातलो थियो । निर्जीवन बिमा कम्पनीमा सेल्समा काम गर्ने उनी एक्लो महिला कर्मचारी थिइन् ।
नेपाल फर्किसकेपछि यहाँको बजार र जनसम्पर्कका लागि आफ्नो करिअरलाई केही धीमा पनि गरेको हुँ ।
भारतमा पेशागत र व्यवसायिक क्षेत्रका औपचारिक कम्पनीहरुमा महिलाको प्रवेश बाक्लिन थालेको धेरै भएको छैन । भारतीय अर्थतन्त्र तीव्र विस्तार भएको पनि पछिल्लो दशकमै हो । प्रविधिको विकास, डिजिटाइजेसन, अर्थतन्त्र तीव्र विकास हुने क्रमसँगै भारतमा व्यवस्थापनको मध्य र माथिल्लो तहमा महिलाहरुको उपस्थिति हुन थालेको हो । अबको पुस्तामा यो बाक्लिने क्रम तीव्र छ ।
आइसीआइसीआइमा काम गर्दागर्दै उनको कार्यसम्पादनले उनी जसको मातहतमा काम गर्थिन्, त्यी व्यक्ति नै पछि उनको मातहतमा भए । करिअरको सुरुवातमा म्यानुफ्याक्चरिङ क्षेत्रमा काम गरेकी उनी करिब तीन वर्ष आइसीसीआइसीआइमा काम गरेपछि सन् २०१४ को अन्त्यदेखि टेलिकम क्षेमा काम गर्न थालिन् । उनले भोडाफोनको वरिष्ठ बजार प्रबन्धकका रुपमा पोष्टपेड विजनेस हेर्थिन् ।
कर्मचारी मैत्री, प्रविधिको विकासले धूम मच्चाइरहेको, प्रत्यक्ष उपभोक्तासँग अन्तक्रिया गर्न पाइने दूरसञ्चार क्षेत्रले भने उनलाई धेरै तान्न सकेन । भोडाफोनमा उच्च कार्यसम्पादन गर्ने कर्मचारी भएपनि उनलाई कमिन्समा काम गर्दाको समूहले भारती एक्सा जनरल इन्स्यारेन्समा टीममा बस्न आग्रह गरिरहे । बिमा क्षेत्रमा काम गरेको अनुभवले उनी भारती एक्सालाई सुधार गर्न आफ्नो पुरानै टीमलाई सघाउन जाने निधो गरिन् ।
भोडाफोनमा दुई वर्ष काम गरिसकेपछि सन् २०१७ को सुरुवातदेखि उनी पुनः बीमा क्षेत्रमै प्रवेश गरिन्- भारती एक्सा जनरल इन्स्यारेन्समा सुधार ल्याउन उनको टीम सफल पनि भयो । ‘भारतीय एक्साको कार्यसम्पादन राम्रो थिएन, डुब्न लागेको कम्पनीलाई पनि सुधार गर्न सकिन्छ भनेरै हामीले जोखिम लिएका थियौं र त्यसमा सफल पनि भयौं,’ उनले भनिन् । भारतीय एक्सामा एक वर्ष ८ महिना वितरण र रणनीतिको क्षेत्रमा काम गरिन् ।
मान्छे आफैं प्रोत्साहीत भएर बीमा प्रडक्ट किन्ने वातावरण बनाउन भने बीमा कम्पनीहरुको तर्फबाट पनि पहल आवश्यक छ ।
त्यसपछि उनी काठमाडौं आइन् । सन् २०१८ को अगस्टदेखि सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धक । त्यहाँ साढे दुई वर्षजति काम गरेपछि उनी गत वर्षमात्रै युनाइटेड इन्स्यारेन्समा नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन् । आइसीसीआइसीआइले व्यवस्थापन प्रमुख हुनसक्ने सम्भावना भएका कर्मचारीहरुमध्ये छनौट गरेर नेतृत्व विकास गर्दै लैजाने क्रममा उनले आइटी, प्रडक्ट डेभलपमेन्ट, मार्केटिङ, अन्डरराइटिङ, पुनर्बीमा, रणनीति सबै क्षेत्रमा कामको अनुभव लिइन् । आइसीआइसीआइमा नेतृत्व लिनसक्ने सम्भावना भएको व्यक्तिलाई पालैपालो सबै क्षेत्रको अनुभवका लागि सबै मुख्य विभागहरुमा काम गराइन्छ ।
‘नेपाल फर्किसकेपछि यहाँको बजार र जनसम्पर्कका लागि आफ्नो करिअरलाई केही धीमा पनि गरेको हुँ,’ उपासना भन्छिन् । नेपालको बीमा बजार बढ्ने क्रममा छ । अत्यावश्यक भएमात्र बीमा गर्ने चलन छ । मान्छे आफैं प्रोत्साहीत भएर बीमा प्रडक्ट किन्ने वातावरण बनाउन भने बीमा कम्पनीहरुको तर्फबाट पनि पहल आवश्यक छ । खासगरी सन् २०१५ को महाविनाशकारी भूकम्पपछि बीमाप्रति सचेतना बढेर गएको छ । त्यसको लाभ लिन कम्पनीहरुले आफ्नो सेवाको गुणस्तर पनि बढाउँदै आएका छन् भने बजारमा नयाँ बीमा कम्पनीहरु पनि थपिएका छन् ।
नयाँ र पुरानो दुवैथरी बीमा कम्पनीहरुमा काम गरेको अनुभवका आधारमा उनी भन्छिन्, ‘पुरानो कम्पनीको साखसँग पनि धेरै विषय जोडिन्छ । पुराना कम्पनीहरुको तुलनामा नयाँ कम्पनीलाई व्यवसाय विस्तार गर्न सजिलो छ ।’ युनाइटेड इन्स्यारेन्स भने आफ्नो पुरानो शाख फर्काउने क्रममा छ ।
भारतमा काम गरेको उनको अनुभव उनले कम्पनीमा काममा रमाइलो वातावरण, ओपन डोर पोलीसी जस्ता केही काम गर्ने संस्कारमा परिवर्तन गरेकी छिन् । सीईओको कोठाको ढोका सधैं सबै कर्मचारीका लागि खुला हुन्छ, जो सुकै पनि आवश्यकता अनुसार सहजै प्रवेश गर्न सक्छ ।
युनाइटेड इन्स्यारेनसले गत वर्षदेखि स्थापनाको २७ वर्ष यताकै ठूलो परिमाणमा व्यवसाय गर्यो, वार्षिक झण्डै ६६ करोड रुपैँयाको कारोबार । यो वर्ष पनि व्यवसायको वृद्धि ५० प्रतिशत छ । उनको निकट भविष्यको लक्ष्य छ- १०० करोड रुपैँयाको वार्षिक कारोबार पुर्याउने सँगै सेवाको गुणस्तर, ग्राहक मैत्री सेवा र कम्पनीको स्थायित्व मजबुत गर्ने । लक्ष्यमा जिद्दी, मेहनतमा चातुर्य अनि कामलाई थाती नराख्ने उनको व्यवस्थापन सूत्र व्यवस्थापनलाई पेशा बनाउने नवप्रवेशीहरुका लागि प्रेरणा हुनसक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया