जनताले घृणा गरेको छ, थुकेको छ उहाँहरूलाई
राष्ट्रपतिले भन्नुभयो, ‘तपाईंको राजीनामा स्वीकृत गर्दिनँ’
पदबाहिर रहँदा पनि खुसी हुन सकिन्छ, सम्मानजनक जीवन बिताउन सकिन्छ भन्ने उदाहरणमा पूर्व गृह सचिव तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको नाम आउने रहेछ । निर्वाचन आयोगमा साढे तीन वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा गरेर उनी विद्यार्थी हुन हार्वर्ड विश्वविद्यालयतिर लागे । तत्कालीन राष्ट्रपतिले ‘राजीनामा स्वीकृत गर्दिनँ’ मात्र भनेनन्, कार्यालयसँगै साँध जोडिएका उपराष्ट्रपतिले पनि पद नछोड्न धेरै सम्झाए । ‘नेपाल भोट्स फर पिस एन्ड इलेक्सन', ‘भायलेन्स प्रिभेन्सन थ्रु डिप्लोमेसी’जस्ता पुस्तक लेखेका पोखरेल नेपालमा त छँदै छ, विश्वका विभिन्न देशमा सरकार-राष्ट्रप्रमुखहरुबीच पनि निर्वाचन प्रणाली, शासन प्रणालीबारे बोल्न विज्ञका रूपमा उभिन्छन् ।
यही मंसिर ४ मा संघ र प्रदेश संसद्का लागि निर्वाचन हुँदै छ । पोखरेलका केही निजी र केही निर्वाचन अनुभवबारे हामीले उनीसँग लामै कुराकानी गरेका छौँ । पूर्वप्रधानमन्त्री हराऔँ अभियानमा आफ्नो नैतिक समर्थन रहेको भन्दै उनले हातै जोडेर भने, ‘प्लिज तपाईंहरू अब बसिदिनुस् ।’ आफ्नो देशका नेताप्रति आम नागरिकले छिःछि, दुरदुर गरिरहनुपर्ने अवस्था देख्दा पोखरेललाई दुःख लागेको छ । इकागजका लागि हरिबहादुर थापा र विमल आचार्यले गरेको यो विस्तृत संवादबाट ‘निजी कुराकानी’ आज साझा गरेका छौँ भने ‘निर्वाचन कुराकानी’ भोलि साझा गर्नेछौँ :
सञ्चारमाध्यमको काम जे भइरहेछ, त्यो सकेसम्म जस्ताको तस्तै देखाउने नै होला । त्यसैले कुरा सुरु देश त खत्तमै भयो, बर्बादै भयोबाट सुरु गरौँ । किन जताततै यस्तै निराशा मात्र सुनिन्छ ? तपाईंले पनि केही समय पहिलेको आफ्नो एक सम्भाषणमा भन्नुभएको छ, जसलाई भेटे पनि कुराकानीको थालनी हुन्छ- मुलुक त खत्तम भयो नि !
समयको कालक्रमले हेर्दा भौतिक रूपले हामीले प्रगति गरेकै छौँ । आर्थिक स्तर पनि केही बढेको छ । हिजोभन्दा राम्रै पनि छ । तर, हामी जहाँ नचुक्नुपर्ने हो त्यहीँ नराम्ररी चुक्यौँ– न्याय र सुशासनमा ।
सरकारले तेरो मेरो नगरोस्, गर्न खोजेको काम सहज होस् यति मात्र मात्र चाहेको छ, नेपालीले । न्याय र सुशासन नपाउँदा गुनासो बढ्यो । सरकारका काम–कारबाहीमा नागरिकको तीव्र असहमति छ, अहिले ।
नेपाली नागरिक सात साल अघिदेखि नै परिवर्तनका लागि त बेलाबेलामा जुरुक्क जुरुक्क उठे । किन उठे ? यो शासनभन्दा राम्रो शासन चाहिन्छ भनेर उठे । पहिलाभन्दा राम्रो होस् भन्ने चाहे । तर, जति संविधान, शासन व्यवस्था आए पनि उस्तै खराब पात्र-प्रवृत्तिको निरन्तरता भयो । यो सब देख्दा नागरिक निराश भएका हुन् ।
पाँच दशक जतिको स्वयंको सचेत प्रत्यक्ष भोगाइ र सुनाइ–पढाइका आधारमा यति निराशा पहिले पनि थियौँ कि ?
राष्ट्र, सरकार, कार्यालय, संगठन, संस्थाहरूका नेतृत्वबाट आममानिसले केही अनुशासन, कर्तव्य, जिम्मेवारीको अपेक्षा गरेको हुन्छ । त्यसमा सबैभन्दा चुकेको वा चुक्दै गएको म अहिले पाउँछु । पञ्चायत राजा मान्नेका लागि मात्र राम्रो थियो । मेरो अनुभवमा २०४८-२०५१ को अवधिलाई म उज्ज्वल कालखण्ड मान्दछु । म प्रत्यक्ष संलग्न भएको बेला भएर पनि म पक्षपाती भएको हुन सक्छु । त्यतिखेर निर्वाचित सरकारको प्राथमिकता राम्रो थियो ।
सम्पत्ति कसरी जोगाऊँ, म सुरक्षित हुन्छु कि हुन्न ? मैले हिजो गरेका कमीकमजोरी–गल्तीले गर्दाखेरि ममाथि आक्रमण हुन्छ कि भन्ने चिन्ता म पाउँछु । त्यो चिन्ताका लागि पद छोड्न नसक्ने र देशलाई बन्धकी बनाउने । सबैभन्दा दुःखान्त अवस्था यहाँ छ ।
मुलुक अब अलिकति अघि जानुपर्छ है भन्ने राष्ट्रिय उभार आएको थियो । तर, विडम्बना आफ्नै कारणले त्यो रफ्तार र व्यवस्थित सुरुवातमा ब्रेक लाग्दै गयो । तर, त्यतिबेला भ्रष्टाचार गर्नु भनको आम तहबाट बहिष्कृत हुनु हो भन्ने केही न केही डर थियो । त्यो डर अहिले आफैँ डराएर कतै लुकेको–हराएको छ । ‘दाइ–कल्चर’, ‘कमरेड कल्चर’ले शासन बिग्रिँदै गयो ।
प्रधानमन्त्री, मन्त्रीहरू पहिला पार्टीका हुन्थे । अब गुट, उपगुट हुँदै इन्ट्रेस्ट ग्रुपको हातमा गयो । चाहे मन्त्रिपरिषद् भन्नुुस् अथवा संसद्, अदालत । यी संस्थाहरू इन्ट्रेस्ट ग्रुपहरूले अनौपचारिक गरेका निष्कर्षलाई औपचारिक गरिरहेका छन् । यही कारण हो देश खतम भयो भन्ने मुड बन्नुमा ।
हिजो म त्यहाँ थिएँ, ती–ती संस्थामा बसेँ भन्दा लाज लाग्छ भन्नुभएको छ, किन ?
म आफू शतप्रतिशत शुद्ध भएर निस्केँ भन्न खोजेको हैन । तर, यो अवस्था म कल्पना पनि गर्न सक्दिनथेँ । म २०५५ सालमा सचिवबाट रिटायर्ड भएँ । मन्त्रीले सचिवसँग केही कुुरा गर्नुपर्दा दशपल्ट सोच्नुहुन्थ्यो । सचिवले हुँदैन भन्छन् कि भनेर डराउनु पनि हुन्थ्यो । अब कर्मचारीको सामान्य सरुवा, बढुवा, नियुक्ति गर्दाखेरि पैसा–शक्ति नभई हुँदैन भन्ने सुन्दा मलाई यो सब कल्पनाबाहिरको जस्तो लाग्छ ।
सचिव हुन्छु भनेर मैले कल्पना पनि गरेको थिएँ । रेडियोबाट बेलुका थाहा पाएको हुँ । अनि प्रमुख आयुक्त बन्ने कुरा आएपछि दुईचार म लुकेँ । म यो बन्दिनँ भनेर भागेर पनि बसेँ । तर, परिस्थिति यस्तो आयो मैले नियति सम्झेर कर परेरै जिम्मेवारी स्वीकार गरेँ । ती दिन अनि यी दिन सम्झिँदा अचम्म लाग्छ ।
यतिखेर पद पाउन कहाँ–कहाँ कसकसलाई रिझाउने, कति लेनदेन गर्ने, कुन व्यपारीलाई भेट्ने, यी सब सुन्दा मलाई कहाली लाग्छ । अब यस्तोमा संस्थाहरू कसरी बन्छन् ? यहाँ सिस्टमले काम गरेको छैन । सिस्टम नभएको हैन, छ । तर त्यसलाई कामै नलाग्ने बनाइएको छ ।
त्यही त तपाईंले त्यो सानमान, पैसा–ऐयास हुने आयुक्त पद छोड्नुभयो । कुनै नाजायज दबाब स्वीकार गर्न नसकेर, विवादमा परेर पद छोडेका केही उदाहरण त छन्, तर तपाईंले खसुक्क छोड्नुभयो । तिनै पद पाउन कत्रो मरिहत्ते दखिन्छ, तपाईंभित्र के थियो त्यस्तो ?
म गाउँबाट आउँदा तीन सय रूपैयाँ बुवाले दिनुभएको थियो । ‘मैले तँलाईं दिने यत्ति हो’ भन्नुभएको थियो । त्यो पैसा कम्मरमा बाँधेर सात दिन हिँडेर म यहाँ आएँ । मैले यहाँ आएर ६ महिनाभित्र २६-२७ ठाउँमा लिखित पास गरेँ । तर, इन्टरभ्युमा फालिएँ । यसले मलाई धेरै सिकायो ।
मैले सचिव हुँदा पनि कार्यकाल पाँच वर्ष हुनुपर्छ, थप्नु हुँदैन भनेर भनेको थिएँ । ‘अरु थप्नुपर्छ भन्छन् तपाईं किन आफ्नो आयु घटाउने कुरा गर्नुहुन्छ’ पनि भन्नुहुन्थ्यो । यो पदमा बसेर आफ्नो निजी फाइदाका लागि केही गर्नु छैन भने पद ओगटेर किन बसिरहने भन्ने थियो मलाई । र, हामीले ‘ग्रेसफुल एक्जिट’ लियौँ । ४५ वर्षमै म खुसीसाथ सेवाबाट निवृत्त भएँ ।
चौबीसे घण्टाको झ्याउँझ्याउँ कसरी सहन सकेको होला हाम्रा नेताहरूले ?
अब यो प्रमुख आयुक्त बीचमै छोडेको बारे कुरा गर्दा मेरो मिसन नै निर्वाचन थियो । मैले कहिल्यै नसोचेको पहिलो ऐतिहासिक संविधानसभा चुनाव सफलतापूर्वक सम्पन्न गरेँ ।
चुनाव सकिएपछि मलाई केही कुराले छोयो । सचिवको पदबाट अवकासपत्र लिन जाँदा केही साथीहरू रुनुभयो । ‘यति चाँडै छोड्नुपर्यो, अब के गर्ने’ भनेर । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि ‘यो त फेर्नुपर्छ कि ?’ भन्नुभयो । मैले भनेथेँ, ‘हामी संसद्ले बनाएको कानुनअनुसार बिदा हुँदै छौँ । तपाईं अहिले चुनावी सरकारको नेतृत्व गरिरहनुभएको छ, अध्यादेश ल्याएर कानुन मिच्दा राम्रो सन्देश जाँदैन । तपाईंको इतिहासमा दाग लाग्छ ।’ अनि उहाँले मान्नुभयो ।
मलाई त्यो सम्झना भयो । मैले सामान्य परिवारबाट आएर नपाउने यति धेरै चीज पाएँ । अब मैले केही गर्नुपर्छ भन्ने मेरो अन्तरआत्मामा लाग्यो । तीन कुराका लागि मैले पद छोडेँ :
– पदमा नभए पनि बाँच्न सकिन्छ । यो मैले सचिव छोड्दा पनि अनुभूति गरिरहेको थिएँ ।
– पदमा पुगेपछि म सबै कुरा जान्नेसुन्ने भइसकेँ भन्ने सोच छ । तर, पदमा पुग्दैमा कसैलाई पनि सबै कुरो थाहा हुँदैन । बरु जति पद चढिन्छ, उति धेरै कुरा छुट्दै जान्छन् । थप पढ्नु, सिक्नु जहिल्यै पर्छ । पढ्न उमेर र पदले छेक्दैन ।
– म ५५ वर्षमा थिएँ त्यति बेला । अझ २०/२५ वर्ष त मैले सक्रिय काम गर्नुपर्छ । काम गरेरै आफू र परिवार पाल्नुपर्छ । त्यसका लागि म तयार हुनुपर्छ । मलाई यत्तिले पुग्दैन ।
यी तीन कुरा मलाई मेरो ब्रहमले भन्यो अनि मैले छोडेँ ।
अप्रत्याशित रूपमा राजीनामा आउँदा ककसले केके भने ?
धेरै खाले प्रतिक्रिया पाएँ । उपराष्ट्रपति कार्यालय सँगै थियो । ‘म आज छोडर जाँदै छु’ भन्न त्यहाँ छिर्दाखेरि ‘ओहो, यत्रो पद छोड्नुहुन्छ र ? हामीले यसरी पाको यत्रो पद छोड्ने हैन नि’ भनेर धेरै तर्क गरेर उपराष्ट्रपतिज्यूले मलाई सम्झाउनुभयो । राजीनामा दिन जाँदा राष्ट्रपतिले पनि पत्याउनु नै भएन । भन्नुभयो, ‘कहाँ छोड्नुहुन्छ, तपाईंको राजीनामा स्वीकृत गर्दिनँ ।’ मैले हाँसेर भनेँ, ‘तपाईंले स्वीकार/अस्वीकार गरे पनि संविधानअनुसार मैले दिएपछि स्वतः स्वीकृत हुन्छ ।’
उहाँले ‘किन’ भन्नुभयो मैले ‘पढ्न जान लागेको’ भनेपछि ‘त्यसो भए ठीक छ’ भन्नुभएको थियो ।
‘सनकी, यसलाई नपचेको’ भन्छन् भन्ने मलाई पहिले नै थाहा थियो । किनभने हाम्रो मनोविज्ञान के छ भने यस्ता पद भनेको छोड्ने पद हैनन्, जतिसक्दो उपभोग गर्ने हो । मुलुकलाई केही दिने हैन कि लिने मात्र हो । यो बुझाइ चिर्न पनि जरुरी थियो ।
अनि तपाईंलाई त्यत्रो सानमानको जिन्दगीबाट एकाएक सामान्य जीवनमा आउँदा गाह्रो भएन ?
३०/३५ वर्षको मेरो जीवनमा मैले घन्टी बजाएपछि मलाई सब पुग्थ्यो । जागिरमा आउनुअघि गाउँमा, यता काठमाडौँमा मैले सबै काम गरेँ । तर, जागिरे अवधिमा मलाई घर सफा गर्नु, पकाउनु, लुगा धुनु, भाँडा माझ्नु परेन ।
चाहे मन्त्रिपरिषद् भन्नुस् अथवा संसद्, अदालत । यी संस्थाहरू इन्ट्रेस्ट ग्रुपहरूले अनौपचारिक गरेका निष्कर्षलाई औपचारिक गरिरहेका छन् ।
तर, विद्यार्थी भएर जाँदा त मैले खाना पकाउने, भाँडा माझ्ने, भाँडा सफा गर्ने सबै काम आफैँ गरेँ । आफूले पहिला गरिसकेको हुनाले र जुन समाजमा म गएँ त्यहाँ यस्तो काम गर्नु कुनै ठूलो कुरा र सानो कुरा पनि नभएकाले मलाई खासै गाह्रो भएन ।
समय व्यवस्थापन गर्न बरु गाह्रो भयो । मसँग त्यहाँ चाहिने भाषा र प्रविधिको राम्रो सीप थिएन । यसमा गाह्रो भयो । नेपालमा मेरा बाआमा सय वर्ष पुग्न लानुभएको छ, मेरो मन यता थियो । अनि २०/२२ वर्षका फ्रेस ग्राजुयट्ससँग पढ्दा, १३० भन्दा धेरै देशका सहपाठीहरुसँगै पढ्दा रमाइलो पनि अनुभूति भयो । उनीहरुसँग प्रतिस्पर्धामा आउन म राति एकदुई बजेसम्म पढ्थेँ । फेरि ५/६ बजे बिहानै उठेर पढ्थेँ । त्यो तपस्या र परीक्षण मैले आफैँ रोजेको थिएँ ।
त्यो तपस्या र परीक्षणको प्रतिफलका रूपमा तपाईंलाई आत्मिक खुसी र आर्थिक सुख के–कसरी मिल्यो ?
त्यसले मलाई धेरै आत्मविश्वासी बनायो । संसारका धेरै सरकार तथा राष्ट्रप्रमुखहरूसँग मैले एउटै टिममा बसेर निर्वाचन, सुशासनबारे सँगै हुने अवसर पाएँ । कोभिड महामारीअघिसम्म म विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनहरूमा गएँ । देशमा पनि तपाईंहरू जस्ताले खोज्नुहुन्छ । यो आनन्द शब्दमा सबै भन्न सकिन्न ।
अनि हामी कुवाको भ्यागुता रहेछौँ भन्ने पनि अनुभूति भयो । संसारमा उनीहरूले जति अवधि पदमा बसे, राम्रो गरे । फेरि त्यही पदमा जान उनीहरूले खासै रहर गरेनन् । पदको गरिमा र मर्यादामा उनीहरू संवेदनशील पाएँ । पाएको सुविधालाई दुरूपयोग गर्नुहुँदैन भन्ने व्यवहार मैले उनीहरूबाट पाएँ ।
उता पद दोहोर्याउन धेरै रुचि राख्दैनन् भन्नुभयो यहाँ त उही पदमा आधा दर्जनपटक नियुक्त भए पनि, पचास वर्ष पदमा बस्दा पनि पुगेको छैन त ?
एकपटक हैन, दुईपटक हैन, पटकपटक प्रधानमन्त्री–मन्त्री–सांसद भइसकेको मान्छेलाई केको लोभ हो ? कतिलाई त मैले भेटमा भनेको पनि छु– तपाईं कति वर्ष वा कति पटक प्रधानमन्त्री हुनुभयो भने पुग्छ ? कति समय पदमा बस्नुहुन्छ त्यसले कुनै माने राख्दैन । एक घण्टाका लागि प्रधानमन्त्री हुनुभयो तर मुलुकका लागि केही राम्रो गर्नुभयो भने त्यो काम जनताले सम्झिन्छन् ।
मलाई लाज लाग्छ– राज्यको साधन–स्रोतको दुरूपयोग देखेर । पदको गिर्दाे गरिमा देखेर मलाई लाज लाग्छ । ऊ पदमा छैन तर वरिपरि सुरक्षाकर्मीबाट घेरिएको छ । हाम्रा नेताहरूलाई जनताले घृणा गरेका छन्, थुकेका छन्, उहाँहरूलाई । अनि मान्छेलाई किन नलागोस्— देश त बर्बादै भयो भनेर ।
म किताबको बादशाह भइसकेँ, अब म यो भन्दा बढ्ता नांगो हुुनुहुँदैन भन्ने किन लाग्दैन ?
उहाँहरु धेरैजसो मेरै उमेरको हुनुहुन्छ, किन उहाँहरूमा यो विचार आउँदैन ? उहाँहरू कति धेरै पढेको, बुझेको हुनुहुन्छ । देश सारा बुझ्नुभएको छ । उहाँहरूलाई म फेल भइसकेँ भन्ने किन लाग्दैन ? म किताबको बादशाह भइसकेँ, अब म यो भन्दा बढ्ता नांगो हुुनुहुँदैन भन्ने किन लाग्दैन । यहाँनेर मलाई दिक्क लागेर आउँछ।एकपटक आफूले पद पाइसकेपछि त्यो अरुलाई चाहिन्छ है भनेर नसोच्ने कस्तो नेतृत्व पायौँ हामीले ? उसैलाई एक्स पद पनि चाहियो, वाई पद पनि चाहियो र जेड पद पनि चाहियो ।
मान्छेलाई विश्राम पनि त चाहिन्छ नि । नेतृत्वहरूको दैनिकी तपाईंहरू ल्याइराख्नुहुन्छ नि, म ती हेर्छु । हेर्नुस् त चौबीसे घण्टा कसरी भ्याउन सक्या होला ? कस्तो दिमाग लिएर आएको होला, हगि ? त्यो झ्याउँझ्याउँ कसरी सहन सकेको होला ? यति गुनासो, गालीगलौज, घृणा सहेर कोही कसरी पदमा बसिरहन सक्छ ? सबै पचाउन सक्या छ, उहाँहरू यसअर्थमा ‘महान्’ हुनुहुन्छ ।
पद छोडेर उहाँहरू बाँच्ने कसरी ? पेन्सन आउँदैन, तपाईंको जस्तो अध्ययन–अनुसन्धान पनि छैन । पदबाहिर रहँदा आफ्नो बिचल्ली हुन्छ भन्ने थाहा भएरै त होला नछोडेको ?
उहाँहरूलाई बाँच्न आर्थिक समस्या होला भन्ने त मलाई लाग्दै लाग्दैन । किनकि उहाँहरूले आफू र अरु धेरै पुस्तालाई पुग्ने गरी कमाइसक्नु भएको छ । यी यी नेताहरूलाई हराऔँ भन्ने अभियान आइरहेको छ नि उहाँहरूलाई के खाऊँ, के लाऊँ भन्ने समस्या होला र ? बरु उहाँहरूलाई चिन्ता मसँग भएको सम्पत्ति कसरी जोगाऊँ, म सुरक्षित हुन्छु कि हुन्न ? मैले हिजो गरेका कमीकमजोरी–गल्तीले गर्दाखेरि ममाथि आक्रमण हुन्छ कि भन्ने चिन्ता म पाउँछु । त्यो चिन्ताका लागि पद छोड्न नसक्ने र देशलाई बन्धकी बनाउने । सबैभन्दा दुःखान्त अवस्था यहाँ छ ।
म भन्छु पदबाहिर रहेर पनि राम्ररी बाँच्न सक्नुहुन्छ । पद पाउँदैमा प्रतिष्ठा बढेको हुँदैन । मान्छेको मन–मस्तिष्कमा बस्न सक्नुपर्छ । तपाईंहरू देशका लागि धेरै सुकर्म गर्दै कुकर्मतिर आउनुभयो । अब ती कुकर्म पखाल्न पद छोडेर बाहिर आउनुस् । समाजलाई हित गर्ने एक एक वटा विधामा काम गर्नुस्, आउनुस् सहकार्य गरौँ । हात जाडेर भन्छु– प्लिज, अब चुनावमा नउठ्दिनुस् ।
(‘चुनावमा नउठ्दिनुस्’सँगै पहिलो भाग यहीँ अन्त्य गर्छाैं । चुनाव केन्द्रित भाग दुईका लागि प्रतीक्षा गर्नुहोस् ।)
तस्बिर : पुरन विश्वकर्मा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया