वार्ता

‘श्रमजीवी पत्रकारका लागि लड्छु, मोफसललाई विशेष ध्यान दिन्छु’

इकागज |
बैशाख १, २०७८ बुधबार १७:१६ बजे

नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि विपुल पोख्रेलको व्यस्तता बढ्दो छ । झण्डै दशकपछि पत्रकार महासंघको नेतृत्वमा लोकतान्त्रिक धारबाट पोखरेल अध्यक्षमा चुनिएका हुन् । लोकतान्त्रिक प्यानलबाट चुनाव जितेका पोख्रेल सबै पत्रकारको हकहितका लागि सबै ऊर्जा लगाएर काम गर्ने बताउँछन् । इकागजले पत्रकार महासंघका अध्यक्ष पोख्रेलसँग गरेको कुराकानीको सम्पादित अंश : 

तपाई श्रमजिबीको मुद्दा बोकेर दलकै नेताबाट टिका लगाएर चुनाव जित्‍नुभयो भन्छन् नि ?


मलाई दलका नेताहरुको सहानुभूति थियो । तर सबै पत्रकारले भोट हालेर चुनाव जिताएका हुन् । नेता र दलले चुनाव जिताएको होइन । यसपटक प्रत्यक्ष भोटिङ सिस्टम भएकाले व्यवसायिक पत्रकारको मतबाट चुनाव जितेको इतिहास पनि बनाएको छु । २०५४ सालदेखि पत्रकारिता गरेको पत्रकार भएकाले चुनाव जित्‍नु, पत्रकारको मुद्दाका लागी लड्नु दलको टीका लगाउनु पर्दैन ।

दलीय प्यानलबाटै चुनाव जित्‍नुभयो । अब सबै पत्रकारलाई मिलाएर कसरी काम गर्नुहुन्छ ?

चुनाव जित्न, नेतृत्वमा पुग्न मन तथा विचार मिलेकासँग सहकार्य गर्नुपर्छ । यो लोकतान्त्रिक पद्धति हो । हामीले कसैलाई निषेध गरेका छैनौँ । स्वच्छ प्रतिष्पर्धा भयो । प्रतिस्पर्धा भएरै चुनावमा सबैको चासो पनि बढेको हो । चुनावमा एउटाले जित्दा अर्कोलाई हराइएकाे नभनाैँ । मूल कुरा मुद्दा हो । मुद्दाकै लागि साथीहरू चुनावमा उठ्नु भएको हो । जित्‍ने, हार्नेभन्दा मतअनुसार एजेन्डा स्थापित भएको छ । अब एजेन्डाका लागि काम गर्ने हो । सबैका एजेन्डालाई सम्बोधन गर्ने मेरो पहिलो प्रयास हुन्छ । पक्ष विपक्षभन्दा पत्रकार महासंघलाई एक ढिक्का बनाउन मेरो प्रमुख भूमिका हुन्छ ।


चुनाव हारेका पत्रकारलाई कसरी लैजानुहुन्छ ? 

चुनाव जित्‍ने हार्ने एउटा प्रक्रिया हो । कोही जित्ने र कोही हार्ने हुँदैन । मात्रै कामको जिम्मेवारी बाँडफाँड भएको हो । हामीले चुनावमा कम मत ल्याएका साथीहरूलाई सल्लाहकारमा राखेका छौँ । पाइला पाइलामा उहाँहरुको साथ, सहयोग र सल्लाह लिएर अघि बढ्छौँ । 


तत्कालै के के काम गर्ने योजना छ ?

म उपाध्यक्ष हुँदा हामीले केही कामको थालनी गरेका थियौँ । तीमध्ये प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मस्यौदा संसदमा पुग्‍नु अगावै छलफल गर्ने योजना छ । त्यसलाइ प्रेस स्वतन्त्रतामैत्री बनाउने हो । त्यसपछि हामी श्रमजिवीको मुद्दामा धेरै केन्द्रित थियौ, अब त्यसलाई निरन्तरता दिन्छौँ । कोभिड-१९ को मारमा परेका पत्रकारलाई पुनःस्थापना गर्छौ । कोभिड-१९ को दोस्रो लहर आउँदैछ । यो अर्को चुनौती हो । पत्रकारलाई सुरक्षित राख्न सबै शक्ति खर्चिन्छौँ । पत्रकारको स्वास्थ्य बीमा सबैले गर्न पाएका छैनन् । यसमा हामी गम्भीर छौँ । श्रमजिवी पत्रकारका लागि जे-जे गर्नुपर्छ । सबै योजना बनाएर काम सुरु गर्छौ ।


पत्रकार महासंघको नेतृत्वमा पुगेकाहरू मालिकको पक्षपोषण गर्छन् भन्‍ने गुनासो छ नि ? 

म मोफसलबाट आएको पत्रकार हुँ । मलाई पत्रकारको समस्या, पीडा र वास्तविकता थाहा छ । मोफसलबाट आएकाले मिडिया मालिक मैले राम्रोसँग चिन्दिन । मैले चिन्ने भनेको पत्रकार मात्रै हो । त्यसैले मिडिया हाउसमा काम गर्ने श्रमजिवीको पक्षमा उभिन मलाई अलिकति पनि समस्या हुँदैन । मिडिया हाउसभित्र श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउनु, सबैलाई कम्तीमा न्यूनतम पारिश्रमिक दिलाउनु मेरो प्रमुख दायित्व हुनेछ । यस विषयमा मिडिया सञ्चालक र पत्रकारबीच पटक-पटक सम्झौता हुन्छ । तर कार्यान्वयन हुँदैन । त्यसका लागि हामीले चरणबद्ध आन्दोलन गर्नुपर्ने हुन सक्छ । आवश्यक परे हामी सडक आन्दोलन पनि गर्छौ । 

महासंघमा पत्रकार कम, दलीय नेता र व्यापारी बढी छन् भन्‍ने गुनासो जताततै छ  । शुद्धीकरण कसरी गर्नुहुन्छ ?

देशभर १३ हजार बढी पत्रकार सदस्य छन् । यसवर्ष हामीले चार हजार मात्रै सदस्यता दिएका थियौँ । त्यो पनि शुद्धीकरणको प्रयास हो । अब कतिपय विगतमा पत्रकारिता गरेका र हाल पलायन भएका पत्रकार छन् । उनीहरुलाई सम्मानका साथ सदस्यताबाट बिदा गर्ने प्रयास गर्छौ । उहाँहरुको उच्च मूल्यांकन गर्दै सम्मानका साथ महासंघको सदस्यताबाट बाहिरिन आग्रह गर्छौ । सबै एकैपटक नभएपनि यो वर्षदेखि शुद्धीकरणको प्रयास सुरु भइसकेको छ । यसलाई निरन्तरता दिन्छौँ । त्यसबाहेक मोफसलका पत्रकारका लागि मैले विशेष ध्यान दिनेछु । मोफसलका पत्रकारको पीडा र समस्या सबै बुझेकाले उनीहरुले सञ्‍चालन गरेको मिडियालाई स्थापित गर्न, टिकाइ राख्‍नका लागि गर्नुपर्ने काम म गर्छु । 

 


Author

थप समाचार
x