वार्ता

कर्णालीमा 'फ्लोर क्रस'

'जबसम्‍म ओली झुक्‍दैनन् प्रतिरोध गरिरहन्‍छौँ'

ओलीको कारबाही कागजको टुक्रा हो, केही फरक पर्दैन

इकागज |
बैशाख ४, २०७८ शनिवार ११:५९ बजे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो प्रदेश सभामा विश्वासको मत लिँदा एमालेका चार जना सांसदले ‘फ्लोर क्रस’ पार्टीको व्हीप उल्लंघन गरेसँगै कारबाहीको सिफारिसमा परेका छन् । यद्यपि नेपालको संसदीय इतिहासमा पहिलो ‘पटक फ्लोर’ क्रसको यो पहिलो घटना होइन, प्रतिनिधि सभामा २०५२/२०५४ ताका त्यस्ता दृश्य नियमित थिए । एमालेका चार सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कर्मराज शाही र अम्बरबहादुर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि मुलुकको राजनीतिमा तरंग उत्पन्‍न भएको छ । कर्णाली प्रतिरोध अब संघीय संसद र अन्य प्रदेशमा पनि सल्कने सन्देश दिएको छ । शाहीलाई विश्वासको मत दिएका एमालेको कर्णाली प्रदेश सभा सदस्य अम्बरबहादुर थापासँग यसै प्रसंगमा इकागजले शनिबार बिहान गरेको कुराकानीको सारसंक्षेप :

एमाले जस्तो अनुशासित पार्टीमा ‘फ्‍लोर क्रस’को स्थिति कसरी आयो ?
यो अवस्था आउनुको मूल कारण भनेकै अस्ति फागुन २३ गतेको निर्णय हो । जुन किसिमले केपी ओलीले नेकपा एमालेलाई ध्वस्त पार्ने प्रवृत्ति देखाए त्यसविरुद्ध हाम्रो प्रतिकार हो । उनले भारतको रअको एजेन्ट सामन्त गोयलसँग सम्झौता गरेर संविधान ध्वस्त बनाए । फेरि अदालतले ‘सेटिङ’मा फागुन २३ को निर्णयसँगै उनी स्थापित भए । अदालतले तिमीहरू आ-आफ्ना घरमा जाऊ भनेर एउटा राजनीतिक निर्णय गरिदियो । तर पनि न्यायलयको आदेश त हामीले मान्‍नुपर्‍यो । हामीलाई चित्त बुझ्दो नभए पनि सर्वोच्‍च अदालतको फैसला त मान्‍नुपर्‍यो । तर सर्वोच्‍चको फैसलासमेत केपी ओलीले नमानेर पार्टीलाई ध्वस्त बनाउने षड्यन्त्रकै रुपमा अघि बढेको हुनाले त्यस प्रवृत्तिविरुद्धमा हाम्रो यो सन्देश (फ्‍लोर क्रस) हो । नेकपा एमालेका विरुद्धमा यो सन्देश होइन । केपी ओली प्रवृत्ति, अतिवाद र सामन्तवादविरुद्धको ‘फ्लोर क्रस’ हो । केपी ओली नसच्चिएसम्म यस्ता काम कारबाही अघि बढ्छन् भन्‍ने सन्देश पनि हो ।


तपाईंहरूको यो सन्देशले लोकतन्त्र र प्रणालीलाई विचलित पार्छ भन्‍ने पनि छ नि ?
नयाँ संविधानपछिको संसदीय अभ्यासमा हामीले गरेको ‘फ्लोर क्रस’ पहिलो रहेछ । कर्णाली प्रदेशलाई ‘फ्लोर क्रस’ गर्न वाध्य बनाइदिने काम केपी ओलीले नै गरेका हुन् । यो हाम्रो चाहना होइन । हामी कुनै हालतमा पनि नेकपा एमालेलाई ध्वस्त हुन दिन्‍नौं । नेकपा एमालेमा हामी सबैको लगानी छ । म त माधवकुमार नेपालहरूको अगाडि फुच्चे हुँ ।

सर्वोच्‍चको फैसलासमेत केपी ओलीले नमानेर पार्टीलाई ध्वस्त बनाउने षड्यन्त्रकै रुपमा अघि बढेको हुनाले त्यस प्रवृत्तिविरुद्धमा हाम्रो यो सन्देश (फ्‍लोर क्रस) हो ।

म २०४२ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेको हुँ । उहाँहरूको वर्षौँको मेहेनत र लगानीले आज नेकपा एमाले भएको हो । २०१७/१८ सालदेखि नै कम्युनिस्ट पार्टीमा लागेकाहरू छन् । यत्रो मेहेनतका साथ बनाइएको एमालेलाई ओलीले ध्वस्त बनाइदिए । हिजो पनि हामीले विश्वास गरेको पात्र यिनी (ओली) होइनन् । २०६२/६३ को आन्दोलनमा हामी आन्दोलनको बंकरमा थियौं, ओली राजा बचाउन बयल गाडा चढेर अमेरिका पुगिँदैन भन्‍ने मान्छे हुन् ।

त्यसो भए, तपाईंले ओली गणतन्त्रवादी होइनन् खोजेको हो ?
म उनलाई चुनौतीका साथ भन्‍न सक्छु नेपालको प्रजातान्त्रिक आन्दोलन (२०६२/६३) मा उनले कहाँ अगुवाई गरेका थिए ? आज उनी बडो प्रजातन्त्रवादी बनेका छन् । उनका मान्छेहरू सबै दरबार पठाए ।  त्यो प्रमाण छ । यो कुरा त म प्रमाणका साथ अगाडि राखिदिन सक्छु । उनी मान्छे दरबार पठाउने अनि म कम्युनिस्ट पार्टीको नेता हुँ भन्‍ने ? उनमा विचार र भावनाभन्दा पनि कसरी भारतीय दलालहरूसँग मिल्ने भन्‍ने छ । मलाई यो कुरा भन्‍नलाई कुनै धुकचुक छैन ।

 प्रजातान्त्रिक आन्दोलनमा ओलीले आफ्‍ना मान्‍छे सबै दरबार पठाएको प्रमाण छ ।

संविधान निर्माण गरिसकेपछि उनी भारतसँग मिले । मोदी र ओलीको षड्यन्त्रले नेपालमा नौ महिना नाकाबन्दी चलेको हो । त्यो नाकाबन्दीले उनको ‘हाइट’ बढायो । हामीले बाहिर देख्दा केपी ओलीले राष्ट्रवादी काम गरे भनेका छौं । सिंगो राष्ट्र ध्वस्त बनाएको हामीले थाहा पाएनौं । यो शिखरसम्म पुर्‍याइएको कम्युनिस्ट आन्दोलनलाई धरापमा पार्ने मान्छे कसरी राष्ट्रवादी हुन्छ ? यदि उनी राष्ट्रवादी थिए भने त कम्युनिस्ट आन्दोलनलाई बचाएर लैजान्थे । कम्युनिस्ट आन्दोलनमा पार्टीको एउटा संस्थागत विकास गरेर अगाडि बढ्थे । तर जंगबहादुर राणाभन्दा पनि दस गुणा अगाडि बढे । २१ औं शताब्दीमा जन्मेर १८ औं शताब्दीको जंगबहादुर बन्‍नु भनेको धेरै पछाडि रहनु हो । त्यसकारणले अहिलेको यिनको अतिवाद, स्वच्छन्दवादी सोच र चिन्तन र एकाधिकारवादविरुद्धमा हामी अगाडि बढेको हौं ।

यो सन्देश के अब अरु प्रदेश र संघीय संसद्‌मा पनि जाने हो ?
यो देखिन्छ भन्‍ने थाहा पाई पाई केपी ओली लाग्या छन् । उनको मानसिकता भनेको ध्वस्त बनाउने हो । दलालहरूको सती जान तयार भए । यदि त्यसो भयो भने यो देशलाई बचाउन, कम्युनिस्ट आन्दोलनलाई बचाउन हाम्रो लडाईं जारी छ । चाहे त्यो पार्टीभित्र होस् वा बाहिर होस् । कम्युनिस्ट आन्दोलनलाई बचाउने हो, अतिवादलाई परास्त गर्ने हो ।

तपाईंहरूलाई पार्टीले कारबाही गर्ने भनेको छ, त्यसको प्रतिरोध कसरी गर्नुहुन्छ ?
ओलीको कारबाही त एउटा कागजको टुक्रा हो, त्यसलाई के ठान्‍नु भएको छ ? कम्युनिस्ट आन्दोलनको लागि सहीद बन्‍न तयार भएका हामीलाई यस्ता कारबाहीले केही फरक पर्दैन । सांसदबाट फाल्छन् भन्‍ने थाहा छ नि । म त संविधानसभाको पनि प्रतिनिधि थिएँ । सांसद जान्छ, पार्टी कारबाही हुन्छ भन्‍ने कुरा त मलाई थाहा थियो होला नि । हो, थाहा पाईपाई ओली प्रवृत्तिविरुद्ध लाग्या हो ।

  कम्युनिस्ट आन्दोलनलाई धरापमा पार्ने मान्छे कसरी राष्ट्रवादी हुन्छ ?

केपी ओलीका साइबर सेनाहरूले मैले नबोलेका कुरा पनि लेखाएका छन् । कर्णालीको यो आन्दोलन कम्युनिस्ट आन्दोलनका पक्षमा र केपी ओलीको अतिवादका विरुद्धमा हो । नेकपा एमालेलाई अझै पनि बचाएर जाने हो ।

अबको बाटो के हो तपाईंहरूको ?
प्रतिरोध त हामी फेरि गर्छौँ । जबसम्म केपी ओली झुक्दैनन्, आत्मालोचना गरेर अब पार्टीलाई सच्याएर अघि बढ्छु भन्दैनन् तबसम्म हाम्रो अभियान जनताका बीचमा जान्छ । समानान्तर कमिटीको घोषणा भइसकेको छ । समान्तान्तर कमिटीहरू गठन गर्दै जान्छौं । जति दिनसम्म लडाईंं लड्नुपर्ने हो लड्छौं । कम्युनिस्ट एकताको पक्षमा छौं । यो एकतालाई बचाएर राख्छौं ।
 


Author

थप समाचार
x