वार्ता

‘पार्टीका लागि नखुलेका ढोका मेरा लागि खुलिरहेका छन्’

सृजना खड्का |
कात्तिक १७, २०७९ बिहीबार १३:५२ बजे

रन्जु दर्शना अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा उम्मेदवार थिइन् । उनको उम्मेदवारी उपविजेता अर्थात् निकटम प्रतिद्वन्द्वीसम्म पुगेको थियो । त्यसअघि र पछि पनि उनी राजनीतिलाई सामाजिक सरोकारको विषय बनाउँदै मुखर भइरहिन् । विवेकशील पार्टीलाई माइतीघर मण्डल केन्द्रित पार्टी भनिरहँदा रन्जु मेडिकल आन्दोलन होस् वा उखु किसानको आन्दोलन होस्, माइतीघरकी सक्रिय सहभागी र वक्ता थिइन् । 


 

राजनीति शब्द सुन्‍नेबित्तिकै नाक खुम्च्याउने युवा पुस्तालाई राजनीतितिर आकर्षित गर्ने श्रेय विवेकशील अभियानलाई जान्छ भने त्यसको अधिकतम हिस्सा रन्जुको पोल्टामा पर्छ । विवेकशील साझा पार्टीमा पटकपटक टुटफुट भयो, अब त्यो पार्टी आरोप प्रत्यारोपवाला भासमा भासियो । रन्जु यो सब देखेर वाक्क भइन् र पार्टीबाट सर्लक्क निस्किइन् । विवेकशील अभियानका अगुवा उज्वल थापाको असामयिक निधन त्यति बेला भयो जति बेला रवीन्द्र मिश्रको ‘राजनीति’बाट पार्टीभित्र र बाहिरका युवाहरू निराश देखिन थाले । वैकल्पिक राजनीतिका खास विम्ब रन्जु–उज्जवहरू किरानामा पर्नु र वैकल्पिक राजनीतिका दुई छद्म छवि बाबुराम भट्टराई र रवीन्द्र मिश्र कृत्रिम रूपमा चम्किनु एकै समय भयो । कालान्तरमा दुई छद्म छविमध्ये एउटा चाहिँ त्यागिसकेको पुरानै विचारधारा कम्युनिज्मतिर मात्र लागेनन्, आफूले भ्रष्ट भनेका नेताको प्रचारक बने र ‘रेड जोन’तिरै फर्के । र अर्का त झन् वंश र धर्मको पुरानो, प्रतिस्पर्धाको बाटो नै रोक्ने लोकतन्त्रविरोधी घरतिर फर्किए । यसरी वैकल्पिक राजनीतिको प्राणपखेरु उडिरहेका बेला फेरि स्वतन्त्रवालाहरूको लहर आयो । पार्टी राजनीति गरिरहेकाहरूसमेत स्वतन्त्र भनाइरहेका छन् । स्वतन्त्रको लहरमा स्वतन्त्र नामको दल नै खुल्यो । अहिले हर निर्वाचन क्षेत्रमा उही स्वतन्त्र, उही पुरानो स्वतन्त्र, उही खास स्वतन्त्र, उही झन् नयाँ स्वतन्त्र जसरी दलभित्र र दलइतरबाट प्रतिस्पर्धी बनेका छन् । यही मेसोमा काठमाडौँ–५ बाट रन्जु दर्शना स्वतन्त्र उम्मेदवार बनेकी छन् । नयाँ र वैकल्पिक राजनीतिको व्यावहारिक अर्थ र परिभाषा लेखिसकेकी रन्जु अब नयाँ राजनीतिको औचित्य देखाउन चाहन्छिन् । काठमाडौँ–५ मा वरिष्ठहरूदेखि नयाँहरूसम्म आफ्ना मतदाता फकाउन लागिपरेका छन् । रन्जु दर्शना अहिले घरघरमा भएको तर लुकाइएको ठूलो समस्या मानसिक स्वास्थ्यलाई प्रमुख नारा लिएर देखा परेकी छन् । उम्मेदवारहरूको भीडमा उनले चर्काे वाचा र कबोल गरेकी छैनन्, गर्न सकिने व्यावहारिक परिवर्तनमा उनको चासो छ  । प्रस्तुत छ, रन्जु दर्शनासँग सृजना खड्काको संवाद :

निर्वाचनमा यो तपाईंको दोस्रो उम्मेदवारी हो । पहिला स्थानीय तहको निर्वाचनमा दलबाट उम्मेदवारी दिनुभएको थियो, अहिले स्वतन्त्रबाट उठ्दै हुनुहुन्छ । दलीय उम्मेदवार हुनु र स्वतन्त्रबाट उठ्नुमा के फरक रहेछ ?
२०७४ सालमा म जुन दलबाट काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेको थिएँ, त्यो दल नयाँ थियो । जरा गाडेर बसेको संगठन थिएन । अरु पार्टीको हकमा संगठन भएकै कारण आफू मैदानमा पुग्नुअघि आफ्नो फोटो पुग्दो रहेछ । कतिपय निर्वाचन क्षेत्रमा मतदाताले फोटोमै चित्त बुझाउनुपर्ने रहेछ । संगठन हुँदा आफू नपुगे पनि आफ्ना अजेन्डा पुग्ने रहेछन् । संगठन नहुँदा आफ्नो कुरा त पुग्छ, तर धिमा गतिमा । मेरा लागि यो ठूलो अवसर हो । मैले हरेक ठाउँमा आफैँ पुग्छु भन्‍ने अठोट बोकेको छु । हरेक नागरिकसँग ‘फेस टु फेस’ कुरा गरेर अगाडि बढिरहेको छु । 

अघिल्लो पटक मेयरमा युवाको नेतृत्व गरेर राम्रो मत पाउनुभएको थियो । तर, फेरि मेयरमा लड्नुभएन । दोस्रो पटक सफल भइन्थ्यो होला नि किन निरन्तरता नदिनुभएको ?
यो मेरो निरन्तरता नै हो । यसपटक संघीय निर्वाचनमा मैले आफूलाई बढी फिट देखेँ । स्थानीय निर्वाचनमा २१ वर्षको युवा महिलाले उम्मेदवारी दिँदा चौतर्फी हौसला र उमंग छाएको थियो । युवाहरूलाई राजनीतिमा प्रवेश गर्ने  खुड्किलो बनेको थियो  । त्यो कुरा अहिले सम्झिँदा पनि खुसी लाग्छ । त्यो खुड्किलो बनाउने मान्छे म आफैँ हुँ । त्यो बेला उत्साहजनक मत आयो, जीत भएन । हारियो भन्दैमा फेरि नउठ्ने कुरा हुँदैन । घोडा चढ्ने मान्छे लड्छ । फेरि उठेर अघि बढ्नैपर्छ । यसपटक गन्तव्यमा पुग्नुपर्छ भनेर उम्मेदवारी दिएकी हुँ । 

यसपटक पनि लड्नुभयो भने फेरि पनि उठ्ने कि थकाइ मार्ने ?
उठ्नै पर्‍यो । जीवनमा लडेपछि उठ्नैपर्छ । मंसिर ४ मा जित्छु भनेर अगाडि बढिरहेको छु । जीत भएन भने के हुन्छ, त्यो मंसिर ५ पछि थाहा हुन्छ । विगत पाँच वर्षमा धेरै काम गर्नबाट वञ्चित भएँ । पार्टीको गिजोलागिजोलले मलाई धेरै अप्ठ्यारो पार्‍यो । अब आउने पाँच वर्षमा त्यस्तो हुँदैन । निर्वाचनपछि यहाँहरूले मलाई मेरै निर्वाचन क्षेत्रमा आएर भेट्नुपर्नेछ । म सक्रिय भएर लाग्नेछु ।

अरु चार–पाँच दशकदेखि सक्रिय राजनीतिमा छन् । तपाईंहरू चार–पाँच वर्षमै छिन्‍नभिन्‍न हुनुभयो । युवाहरू चाँडो निर्णय लिने चाँडो उदास हुने किन हुन्छन् ? 
निर्णय लिन हतार गर्नु र चाँडै उदास हुनु युवाको विशेषता हो । यो राजनीति र गैर–राजनीति जताततै उस्तै छ । हाम्रो केसमा पार्टीभित्र युवा मात्रै थिएनौँ । आम मतदाताले दुइटा पार्टी मिल्यो भने राम्रो हुन्छ भन्‍ने कल्पना गर्नुभयो । न हाम्रो कार्यशैली मिल्यो न दर्शन । युवाको जोस र ऊर्जालाई खुलापन आवश्यक हुन्छ । त्यो पाइएन । ‘तिमीहरू बुझ्दैनौ, राजनीति हामीले बुझेका छौँ’ भन्‍ने घमण्डले गर्दा टुटफुट भयो । यसअघि म जो साथीहरूसँग राजनीतिक यात्रामा थिएँ । धेरैको दिशा मोडिएको छ । तैपनि, उहाँहरू राजनीतिक अभ्यासमा पछि हट्नुभएको छैन । कोही चुनाव लडिरहेका छन्, कोही चुनावमा सघाइहेका छन् । त्यति धेरै निराशापछि पनि नेपालको राजनीतिमा केही न केही परिवर्तन ल्याउँछु भनेर हिँडिरहनुभएको छ । खुसी लाग्छ । 

तपाईंले उम्मेदवारी घोषणा गर्नुभएको क्षेत्रमा त एमालेका ईश्वर पोख्रेल, कांग्रेसबाट अघिल्लो पटक प्रकारशरण महत लडेको क्षेत्र हो । पुराना अनुभवी नेतालाई हराउन सकिएला त ?
स्मार्टफोनको जमानामा हामी फेरि ल्यान्डलाइन नै खोजिरहेका हौँ कि ? यो प्रश्न मैले ०७४ सालमै उठाएको थिएँ । अब उहाँहरूले युवालाई मार्गनिर्देश गर्ने बेला आएको छ । उहाँहरूलाई अपमान गर्नुपर्छ भनेको होइन । तर, चालिसौँ वर्षसम्म पनि निर्वाचन लडेर उहाँहरूले गर्न चाहेर गर्न नसकेको के हो ? स्पष्ट छैन । किनकि उहाँहरूले चाहनु नै भएन । राजनीति भनेको समयसापेक्ष हुनुपर्छ । म नै ‘एभरग्रिन’ भन्‍ने हुँदैन । त्यसपछिका पिँढीलाई पनि हेर्नुपर्छ ।

सांसद भएपछि तपाईंले उठाउने प्राथमिकता के हो ? जुन अरुमा छैन । सांसदका रूपमा के–के अजेन्डा लिएर जानुहुन्छ ?
मैले उठाउने प्रमुख अजेन्डा मानसिक स्वास्थ्य हो । घर–घरमा मानसिक समस्या झेलिरहेको, भोगिरहेको व्यक्तिहरू छन् । तर, सरकारको तर्फबाट सेवा र सुविधा एकदमै न्यून छ । लाइसेन्सबिनै मानसिक स्वास्थ्यको समस्या निको पार्छु भन्दै धेरै जना आइरहेका छन् । मानसिक स्वास्थ्यसँग सम्बन्धित समयसापेक्ष नीति नै छैन । त्यस्तै, बालबालिकाको उमेरअनुसार यौन तथा शारीरिक शिक्षालाई अनिवार्य विषय बनाएर लैजानुपर्छ । यौन हिंसा र दुर्व्यवहारको विषयमा शून्य सहनशीलताको नीति ल्याउनुपर्छ । 

नागरिकको जीवनमा प्रत्यक्ष असर गर्ने अजेन्डा भ्रष्टाचार र सुशासन पनि हो । सरकारी तथा निजी कार्यालयभित्र भ्रष्टाचारको भण्डाफोर भएको सुन्छौँ । तर, भण्डाफोर गर्ने व्यक्तिको जागिरको सुनिश्चितता, जिउ धनको सुरक्षा खै ? योसँगै बेनामी कारोबारसँग सम्बन्धित ऐन बनाउने बेला भइसक्यो । अर्को धनमाथि धनको रास थुपार्दै जानेहरूको आयको स्रोत पहिल्याउने नीति आउनुपर्छ ।

हामीसँग जलवायु परिवर्तनसँग सम्बन्धित अजेन्डा पनि छन् । विश्वका ठूला र धनाढ्य देशहरूले जलवायु परिवर्तनमा ठूल्ठूला असर गरिरहेका छन् । हामीजस्ता गरिब राष्ट्रले त्यसको मूल्य तिर्नु परिरहेको छ । योबारे हामीले संसद्मा कुरा उठाउनुपर्छ । 

एलजीबीटीआईक्यूसँग सम्बन्धित अजेन्डा पनि छ । यौनिक तथा लैंगिक अल्पसंख्यक साथीहरू आफ्नो पहिचान लुकाउन बाध्य छन् । त्यसले उहाँहरूको मन–मस्तिष्कमा असर गरिरहेको छ । यो फेरि पनि मानसिक स्वास्थ्यसँग जोडिएको छ । यसलाई सरकारले सहजीकरण गर्नुपर्छ । कसैले कोसँग प्रेम र विवाह गर्ने भन्‍ने कुरामा सरकारले हस्तक्षेप गर्नु हुँदैन । योसँगै मेरा अजेन्डाका थुप्रै चाङ छन् । 

प्रमुख प्राथमिकतामा मानसिक स्वास्थ्य नै किन पर्‍यो । यसले तपाईंलाई किन बढी छोयो ?
मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या हर कोहीलाई हुन सक्छ । मलाई हुन सक्छ । पीएचडी गरेकोलाई हुन सक्छ । एउटा किसानलाई हुन सक्छ जो मल नपाएर, उत्पादन राम्रो नभएर आत्महत्या गरिरहेको छ । कसैको जीवनमा आधारभूत कुराहरू नपुगेर हुन सक्छ । कोही ठूलो ओहोदामा पुगेर पनि रित्तो, खोक्रो महसुस भएको हुनसक्छ । ट्राफिक जाम, प्रदूषणले पनि यसको जोखिम बढाइरहेको हुन सक्छ । यस्ता कुराको अध्ययन नै भएको पाइँदैन । मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यमा पनि असर गर्छ । म आफैँ तनावको कुनै चरणबाट गुज्रिसकेपछि यसले मलाई छोएको हो । यसलाई उठाउनैपर्छ भन्‍ने लागेको हो । अहिले पनि धेरैजना मनोचिकित्सककहाँ जान हिचकिचाउँछन् । यससम्बन्धी थुप्रै भ्रम छन् । यसका लागि सरकार पछि हट्न पाउँदैन ।

पछिल्लो समय घरदैलो धाइरहनुभएको छ । तपाईंको निर्वाचन क्षेत्र (काठमाडौँ–५) को प्रमुख समस्या चाहिँ के पाउनुभयो ?
हामीले क्षेत्र नम्बर ५ मा स्याम्पल सर्भे गरेका थियौँ । उहाँका अधिकांश मानिस पैसा तिरेर पानी खान्छन् । पैसा तिरेको पानी पनि सफा छैन भन्‍ने डर छ । सफा पानी नैसर्गिक अधिकार हो । तर, म कार्यकारी भूमिकामा जाने होइन । तर, उहाँहरूको अगुवा बन्‍ने हो । प्रतिनिधिका हिसाबले सफा पानी सुनिश्चित गर्नका लागि कुन–कुन मन्त्रालय, विभाग ढकढकाउनुपर्छ, म पानीको स्याम्पल लिएर उहाँहरूसँगै जान तयार छु । 

जनताहरू संसदीय चुनावमा भोट हालिरहेका छन् । तर, मलाई सडक बनाइदिन्छु भन्‍नुस् अनि मात्र भोट हाल्छौँ भनेर बाचा गर्न लगाइरहेका छन् । एउटा सांसदले त्यो काम गर्न सक्दैन । त्यसमाथि म त स्वतन्त्र रूपमा सांसद बन्‍ने हो । म मन्त्री बन्‍न जान लागेको होइन । म जसको सरकार आए पनि प्रतिरोधमा उभिने व्यक्ति हुँ । सडक र ढलका समस्या जनतासँग मिलेर स्थानीय सरकारको ढोका ढकढकाउन जान सक्छु । मैले सहजीकरण गर्ने हो । बजेट र बेरुजू बुझ्ने हो । स्थानीय सरकारसँग साझेदार भएर काम गर्ने हो ।  

संघीयताको विषयमा धेरैले प्रश्न उठाइरहेका छन् । यसलाई बलियो बनाउने योजना स्वतन्त्र उम्मेदवारहरूले खासै गरेको देखिँदैन । यस विषयमा तपाईंको धारणा के छ ? 
हामीले काठमाडौँ–५ मा सर्भे गर्दा पनि संघीयताको प्रश्न सोधेका थियौँ । धेरै जनाले प्रदेशबाट केही सहयोग पाएका छैनौँ भने । कतिपयलाई संघीयताबारे थाहा नै छैन । प्रदेशमा खर्च धेरै भयो, खर्च अनुसारको नतिजा आएन भन्‍ने कुरा पनि उठिरहेको छ । त्यो सत्य हो । तर, यो संरचनालाई हटाउने भन्दा खर्च कम गर्नेतिर जानुपर्छ । संघीय सरकारबाट काम भएन भनेर जति निराशा र गुनासाहरू आइरहेका छन् । त्यसरी नै प्रदेशलाई अधिकार सुम्पिनुपर्छ, कामको बाँडफाँट गर्नुपर्छ । 

तपाईंले जन सरोकारका विषयमा ‘प्रेसर ग्रुप’ भएर प्रश्न गर्नुभयो, उजुरी र असन्तुष्टिहरू व्यक्त गर्नुभयो । बीचमा धेरैले तपाईंलाई हराएको पनि भने । यही बेला संंसद्बाट राजनीति सुरु गर्नुभएको छ । आफ्नो यात्रालाई कसरी लिइरहनुभएको छ ?
मेरो पाँच वर्ष भोगाइ, सिकाइ र चिनाइमा बित्यो । मैले यो बीचमा धेरैजनालाई चिन्‍न पाएँ । रङ बदलिनेहरूलाई चिन्‍न पाएँ । नजिक बसेर डसिरहनेहरूलाई चिन्‍न पाएँ । राजनीतिक यात्रामा उतारचढाब पनि धेरै भयो । सानै उमेरमा राजनीतिक यात्राको थालनी भयो । तर, पनि राजनीतिक रूपमा खारिँदै आउने मौका मिल्यो । अरुले ४०/५० वर्षपछि मात्रै राजनीतिमा टुटफुट देख्छन् । मैले २१ वर्षकै उमेरदेखि देखेँ । महत्वपूर्ण राजनीतिक सिकाइ मैले आफ्नो जीवनकालमा चाँडै नै पाएँ ।

मलाई केही मतदाताले हराउनुभयो भन्छन् । केहीले पहिलाभन्दा परिपक्व हुनुभएछ भन्छन् । तपाईं आउँदा खुसी लाग्यो भन्‍ने मान्छे पनि धेरै छन् । पहिला ब्याचलर्स नै सक्नुभएको थिएन, अहिले मास्टर्स गरिरहनुभएको रहेछ भन्छन् । मेरा मतदाताहरूले मलाई विश्लेषण गरिरहेका रहेछन् । त्यही भएर पार्टीका लागि नखुलेको ढोका मेरा लागि खुलिरहेका छन् । हामीलाई चिया बनाएर खुवाइरहेका छन् । यो सदाशयता देख्दा जिम्मेवारीबोध हुन्छ । 

तपाईँले रवीन्द्र मिश्रले पार्टीमा ‘विचारभन्दा माथि देश’ भन्‍ने दस्तावेज ल्याएपछि वैकल्पिक राजनीति फोहोरी भयो भनेर पार्टी त्याग्नुभएको थियो । अहिले त उहाँले अध्यक्ष पनि छाडिसक्नुभयो । अब फेरि पार्टीमा फर्कने विचार छ कि छैन ?
म त्यो पार्टीमा फर्किने सम्भावना छैन । म नयाँ यात्राको अध्ययन, अनुसन्धान र अनुभव बटुल्दै छु । यो यात्रा अर्कै बाटोतिर मोडिइसक्यो । ०७८ पुस महिनामा धेरै समय लगाएर दुई पाना लामो राजीनामा पत्र बुझाउँदा यी सबै कुरा ध्यानमा राखेको थिएँ । अहिले स्वतन्त्र रूपमा आफ्नो साथीभाइ, परिवार, ईष्टमित्रले सघाएर निर्वाचनको अभियानलाई यहाँसम्म ल्याएको छु । फेरि त्यो विषले भरिएको वातावरणमा म जान्‍नँ । काम गर्न ऊर्जा मिल्नुपर्छ । गन्तव्य देखेपछि कसैले छोटो बोटो लिन्छन्, कसैले लामो । तर, गन्तव्य नै फरक भयो भने सँगै पुग्न सकिँदैन ।

तस्बिर : आधार खतिवडा


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x